Latest News

लौरो चुनाव चिन्हमा निर्वाचन आयोगमा अर्को दल दर्ता

Nepalese Times July 14, 2022 (1 Year ago)    535 Views

काठमाडौं ।

निर्वाचन आयोगमा लौरो चुनाव चिन्हसहित अर्को दल दर्ता भएको छ । अन्तराज घिमिरेको अध्यक्षमा ‘हाम्रो नेपाली पार्टी’ दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

यसअघि काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्ह लिएर उम्मेदवारी दिएकाहरु विजयी भएका थिए । त्यहि लौरोलाई चुनाव चिन्ह राखेर नयाँ राजनीतिक दल दर्ता भएको हो ।

यस्तै निर्वाचन आयोगले २ मंसिरमा एकै चरणमा प्रदेश सभा तथा प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । बुधबार आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचन मिति तोक्न सरकारलाई सुझाव दिएका हुन् । एक सय २० दिनअगाडि नै निर्वाचनको मिति तोक्न आयोगको सुझाव छ ।

बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग निर्वाचनकाे तयारीबारे छलफल गरेका हुन्। निर्वाचनको मिति घोषणालगायतका विषयमा आयोगले प्रधानमन्त्रीसँग छलफल भएको आयाेगले जनाएकाे छ।

आयोगले सरकारलाई गरेको सिफारिसमा भनिएको छ, ‘निर्वाचन आयोग ऐन २०७३ को दफा ३ को उपदाफ १, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६ को उपदफा १ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ बमोजिम प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन सम्बत २०७९ साल मंसिर २ गते शुक्रबार एकै चरणमा सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिने।’

निर्वाचनको मिति निर्वाचन आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोग स्रोतका अनुसार आयोग पदाधिकारीले १२० दिन तयारीको समय पुग्ने गरी मिति घोषणा गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस