Latest News

बालेनले ‘रुटिन अफ नेपाल बन्द’ लाई एक करोड दिन लागेका हुन् ? यस्तो छ वास्तविकता

Nepalese Times July 14, 2022 (1 Year ago)    290 Views

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह केही विषयले अहिले चर्चामा रहेका छन् । उनले गरेका केही निर्णय र काठमाडौं महानगरपालिकाले विनियोजन गरेको बजेटका कारण उनी संचारमाध्यममा समाचारको पात्र बनिरहेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएर अत्याधिक मतसहित काठमाडौं महानगरपालिकाको मेयर पदमा विजयी भएका शाहले ई–स्पोर्ट्स प्रवर्द्धन र प्रतियोगिताका लागि एक करोड रुपैयाँ विनियोजन गरेका छन् ।

यो शीर्षकमा बजेट विनियोजन गरेसँगै उनीमाथि सामाजिक संजाल फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ लाई गुन तिर्नका लागि यो वजेट ल्याइएको आरोप लागेको छ ।

तर काठमाडौं महानगरपालिकाको बजेटमा न त ‘रुटिन अफ नेपाल बन्द’ का लागि बजेट छुट्याएको भनेर कतै लेखिएको छ, न त त्यो सत्य नै हो ।

शाहले मेयर बन्नु पूर्व नै ई–स्पोर्टस्को क्षेत्रमा पनि लगानी गर्ने विषयलाई आफ्नो अवधारणापत्रमा समावेश गरेका थिए । उनले आफैंले चुनावअघि नै अवधारणापत्रमा समावेश गरेको विषयलाई बजेटमार्फत समेट्ने प्रयास गरेका हुन् ।

महानगरपालिकाले छुट्याएको बजेटमा ई–स्पोर्ट्सलाई प्रवर्द्धन गर्ने र प्रतियोगिता आयोजना गर्ने भनेर राखिएको छ तर डीआरएसलाई कतै जोडिएको छैन ।

नेपालमा ई–स्पोर्ट्सका लागि डीआरएस लगायत धेरै कम्पनी छन । डीआरएस पब्जी खेलबाट आएको हुनाले धेरै चर्चामा छ । नेपालमा डीएसआर लगायत २०० कम्पनी छन् ।

यदि पब्जी खेल प्रतियोगिता आयोजना गरेमा डीएसआरले सहभागिता जनाउने छ । तर, पब्जी बाहेक अन्य खेलकुद प्रतियोगिता आयोजना गरेमा भने अन्य खेलका समूहहरु पुग्नेछन् ।

रुटिन अफ नेपाल बन्द पेज चलाइरहेका भिक्टर पौड्यल डीआरएसका सीईओ हुन् । त्यही भएर नेपालमा चर्चामा रहेको डीआरएसले नै काठमाडौँ महानगरपालिकाले छुट्याएको बजेटबाट ई–स्पोर्ट्स प्रतियोगिता आयोजना गर्ने भन्दै आलोचना भइरहेको छ ।

महानगरले छुट्टाएको बजेटमा आफूहरूको कुनै पनि हात नरहेको र कुन शीर्षक र कुन कानुन अनुसार आफूहरूलाई पैसा दिने भन्ने कुरामा आलोचना भइरहेको छ भन्ने आफै अच्चममा परेको पौड्यलले बताए ।

उनले मेयर बालेन शाहको आलोचनाका लागि नै आफूहरूलाई कुनै पनि विषयमा नेजोडिदिन आग्रह पनि गरेका छन् ।

पौड्यलले डीएसआर एउटा टिममात्र भएकाले यसले प्रतियोगिता गरे पनि सहभागिता मात्र जनाउने र आयोजना नगर्ने बताए । उनले रुटिन आफ नेपाल बन्दलाई जोडिएको विषयमा भने यो एउटा सामाजिक संस्था मात्र भएको र यसले कुनै प्रतियोगिता आयोजना नगर्ने बताए ।

सन् २०१७ मा विश्वभर ई–स्पोर्टसमा सहभागि सङ्ख्या ३३ करोड ५० लाख थियो । उक्त सङ्ख्या सन् २०१८ मा ३९. ५ करोड सङ्ख्या रहेको ई–स्पोर्ट्समा सन् २०२१ मा आउँदा झन्डै ४८ करोड सहभागी छन् । सन् २०२२ मा यो सङ्ख्या ५३ करोड पुग्ने अनुमान रहेको छ ।

ई–स्पोर्ट्सले सन् २०२२ मा विश्वभर १.३८ बिलियन डलर आर्जन गर्ने आँकलन रहेको छ । यसमा एक तिहाइ बजार भने चीनमा रहेको छ । सन् २०२० मा ९ सय ९६ मिलियन डलर आर्जन गरेको ई–स्पोर्ट्सले सन् २०२१ मा १।१३ बिलियन डलर आर्जन गरेको थियो ।

पछिल्लो समय नेपालमा पनि प्रोफेसनल रूपमा ई–स्पोर्ट्समा सहभागिता जनाउनेहरू बढ्दै गएको यस क्षेत्रका जानकारहरु बताउँछन् । सबै तर्फबाट चासोको रूपमा रहेको ई–स्पोर्ट्सले सरकारको लगानी पाउनु सकरात्मक रहेको नेपाल ई–स्पोर्ट्स संघका अध्यक्ष सुरज डङ्गोलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस