Latest News

उपसभामुखमा पुष्पा भुसालको उम्मेदवारी दर्ता, को हुन् पुष्पा ?

Nepalese Times July 14, 2022 (1 Year ago)    361 Views

काठमाडौं ।

प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् ।

माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेदवारी दर्ता गराएकी हुन् ।मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

भुसालले उपसभामुखभन्दा मन्त्रीका लागि चाहना राख्दै आएकी थिइन् । नेताहरुका अनुसार मन्त्री नभए प्रमुख सचेतक पाउनुपर्ने भुसालको दाबी थियो ।

तर, उपसभामुख संवैधानिक परिषदको सदस्य समेत रहने भएकाले भुसाललाई नै उपसभामुख बनाउनुपर्ने भनी प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रस्ताव राखेका थिए ।

सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । सभामुखमा माओवादी केन्द्रका तर्फबाट सांसद निर्वाचित अग्निप्रसाद सापकोटा छन् ।

संवैधानिक व्यवस्था अनुसार उपसभामुखमा माओवादी केन्द्रबाट निर्वाचित सांसद दाबेदार हुन पाउँदैनन् । सभामुखमा पुरुष भएकाले उपसभामुखमा महिला मात्रै उम्मेदवार हुन पाउँछन् ।

लोकतान्त्रिक समाजवादीलाई उपसभामुख दिएर सत्तागठबन्धनमा ल्याउने प्रयास गरिएको भए पनि लोसपासँगको थप सहकार्यको विषय प्रष्ट गर्न नसकिएकाले आफैँले उपसभामुख राख्न खोजेको स्वमं कांग्रेस नेताहरु बताउँछन् ।

स्पष्ट बहुमत भएकाले सत्ता गठबन्धनले जसलाई उम्मेदवार बनाउँछ उही सभामुख चुनिनेछन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा अहिले एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस