Latest News

काठमाडौंमै चितुवाको आतंक, मध्यरातमा भट्टराईको घरमा परेर ५ जना यसरी थुते

Nepalese Times July 14, 2022 (1 Year ago)    364 Views

काठमाडौं ।

काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुंगामा चितुवाको आतंक बढ्न थालेको छ ।

नागर्जुन नगरपालिका ८ हर्सनखोलामा गएराति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका त्यहाँका स्थानीय बासिन्दाले बताएका छन् ।

स्थानीय ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको थियो। चितुवाले आक्रमण गर्दा भट्टराईका घरमा रहेका पाँच जना घाइते भएका छन् ।

घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। घाइते पाँचै जनाको शरिरका विभिन्न अंगमा चितुवाले चिथोरेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ।

पछिल्लो समय बढ्दो शहरीकरणले वन्यजन्तु र मानिसबीचको द्वन्द्व बढेको छ। वनजंगल मासिएसँगै चितुवाको वासस्थानमा पनि संकट पैदा भएको छ। वनजंगल छेउका खेत, बारी बस्तीमा परिणत भएपछि जंगलबाट बाहिर आउने चितुवा सिधै बस्तीमा पुग्न थालेको छ।

विकासका नाममा जताततै सडक बन्नु, त्यसले जंगलभित्रै चितुवा हिंड्ने बाटोलाई तोड्नु आदि कारण पनि यो अवस्थासँग जोडिएको विज्ञहरू बताउँछन्।

त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र विभागका प्रमुख, प्राध्यापक तेजबहादुर थापा चितुवाको पहिलो निशाना बालबालिका नहुन पनि सक्ने बताउँछन्। मृग र अन्य आहाराको खोजीमा बस्ती पसेको चितुवाले केही नभेटेपछि साना बालबालिकालाई निशानामा पार्ने गरेको हुनसक्ने उनको अनुमान छ।

तर, प्राध्यापक करनबहादुर शाह भने जंगलमा आहारा सकिएकाले चितुवाको निशानामा मानिस परेको भन्ने कुरालाई यसको पहिलो कारण मान्दैनन्। चितुवाले जिब्रोको स्वाद फेर्न चाहने, त्यही भएर मानिसलाई आक्रमण गरेको उनको दाबी छ। साना बालबालिकालाई आक्रमण गर्न सजिलो हुने हुँदा उनीहरू नै चितुवाको निशानामा पर्ने गरेको शाह बताउँछन्।

अन्य जंगली जनावर घट्दै जानु, वस्ती नजिक जंगल र झाडी बढ्दै जानु जस्ता कारणले चितुवालाई मानिसमाथि आक्रमण गर्न सहज वातावरण बनेकोमा भने उनी पनि सहमत छन्।

चितुवाले मानिसमाथि आक्रमण गर्न थाल्नुको कारण मानवीय भएको प्राध्यापक शाहको टिप्पणी छ। थापा र शाह दुवै घरछेउ खुला स्थान राख्ने, झाडी मास्ने र घरबाहिर पनि बत्ती बाल्ने गर्दा चितुवाको आक्रमणबाट बच्न सकिने बताउँछन्।

प्रतिक्रिया दिनुहोस