Latest News

कांग्रेसले तयार पार्यो नेताहरुको मर्यादाक्रम, कुन नेता कति औं स्थानमा ? (विवरणसहित)

Nepalese Times July 12, 2022 (1 Year ago)    396 Views

काठमाडौं ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्ताहरुको मर्यादाक्रम तय गरेको छ। सोमबारदेखि जारी केन्द्रीय कार्य समिति बैठकमा उक्त मर्यादाक्रमसम्बन्धी विवरण पेश गरिएको हो।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सानेपास्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा मर्यादाक्रम निर्धारणको निम्ति प्रस्तुत मस्यौदा पेश भएको जानकारी दिए।

जसअनुसार मर्यादाक्रमको पहिलो नम्बरमाा केन्द्रीय सभापति, दोस्रोमा पूर्वकेन्द्रीय सभापति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा पूर्वप्रधानमन्त्री, पाँचौँमा संसदीय दलका नेता, छैटौँमा केन्द्रीय पदाधिकारीलाई राखिएको छ।

त्यसैगरी सातौँमा संसदीय दलका पूर्वनेता, आठौंमा केन्द्रीय पदाधिकारी, नवौँमा केन्द्रीय सदस्य र दशौँमा राष्ट्रियसभा दलका नेतालाई राखिएको छ। त्यसैगरी मर्यादाक्रमको अन्तिम अर्थात १२० औँ नम्बरमा कृयाशील सदस्य र १२१ औँ नम्बरमा नेपाली कांग्रेसका सदस्यहरुलाई राखिएको छ।

यसअघि मर्यादाक्रममा को माथि वा तल हुने भन्नेबारे नेताहरूबीच विवाद भएपछि सभापति शेरबहादुर देउवाले सहमहामन्त्रीहरू जीवन परियार, डिना उपाध्याय र बद्री पाण्डेलाई मर्यादाक्रमको मस्यौदा तयारी गर्ने जिम्मेवारी दिएका थिए ।

सहमहामन्त्रीत्रय परियार, उपाध्याय र पाण्डेले मर्यादाक्रमको मस्यौदा तयार गरी केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरेका हुन् । मंगलबारको बैठकमा सहमहामन्त्री बद्री पाण्डेले मर्यादाक्रमको मस्यौदा छलफलका लागि प्रस्तुत गरेका छन् ।

उनले विधानले व्यवस्था गरेको तहगत संरचनाको आधार, पदाधिकारी, सदस्यको मर्यादाक्रम, सरकारको मर्यादाक्रम र वर्तमान तथा भूतपुर्व पदको आधारलाई मर्यादाक्रम निर्धारणको मस्यौदा तय गरेको बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

मस्यौदाअनुसार कांग्रेसमा वरिष्ठ नेता हुने व्यवस्था हटाइएको छ । हाल सभापति देउवाले महाधिवेशनमा सहयोगी बनेका नेता रामचन्द्र पौडेललाई वरिष्ठ नेताको रुपमा दोस्रो वरियतामा राखेका छन् ।

प्रस्तावित मस्यौदाअनुसार मर्यादाक्रमको सबैभन्दा माथि केन्द्रीय सभापति हुने, र त्यसपछि क्रमशः पुर्वकेन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदीय दलको नेता हुने व्यवस्था छ । मर्यादाक्रममा त्यसपछि पार्टीका केन्द्रीय पदाधिकारी हुन्छन् । यसआधारमा अब सभापति देउवापछि मर्यादाक्रममा उपसभापतिहरू हुनेछन् ।

मस्यौदाअनुसार मर्यादाक्रम लागू भए हाल सभापतिपछि वरिष्ठ नेताका रूपमा सम्मान पाइरहेका रामचन्द्र पौडेल पदाधिकारीभन्दा तल पर्नेछन् । विगतमा महाधिवेशनमा सभापतिपछि सबैभन्दा धेरै मत ल्याउने नेतालाई सभापतिपछिको वरीयतामा राख्ने अभ्यास रहेको थियो । तर, यसपटक सभापति देउवाले सभापतिमा पराजित नेता शेखर कोइरालालाई दोस्रो नम्बरमा राख्न अस्वीकार गरेपछि मर्यादाक्रमबारे विवाद उत्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस