Latest News

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्रमाथि एमालेका विद्यार्थीले लगाए झापड, ठूलो संख्यामा प्रहरी परिचालन

Nepalese Times July 12, 2022 (1 Year ago)    369 Views

काठमाडौं ।

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेकपा एमाले निकट विद्यार्थीहरुले नैतिक झापड लगाएका छन् ।

एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) गण्डकी प्रदेशले राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् ।

मंगलबार हुने प्रदेशसभा बैठकलाई सम्बोधन गर्न जान लागेका मुख्यमन्त्री पोखरेललाई प्रदेशसभा गेटअघि नदीपुरस्थित बाटो रोकेका थिए ।

एमालेका विद्यार्थीहरुको आन्दोलनका कारण मुख्यमन्त्री पोखरेल मुख्यमन्त्री कार्यालयमा नै रहेको उनका प्रेस संयोजक भरतप्रसाद कोइरालाले बताएका छन् । अहिले मुख्यमन्त्री कार्यलयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

११ बजेदेखि सुरु हुने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको थियो । आन्दोलनका कारण मुख्यमन्त्री कार्यालयबाट उनी निस्किएका छैनन् । बाबु–आमाको नाम खोलिएको ट्रस्टमा बजेट छुट्याएको विषयलाई लिएर अनेरास्ववियूले आन्दोलन गरेको हो ।

सोमबारदेखि मुख्यमन्त्री र शिक्षामन्त्री मेखलाल श्रेष्ठको अनुहारमा मुकुण्डो लगाएर १ दान रुपैयाँ संकलन अभियान पनि चलाएको छ । उक्त अभियानमा संकलित रकम प्रदेश सरकारको खातामा जम्मा गरिने अनेरास्ववियूका प्रदेश सचिव आरके पोखरेलले बताए ।

यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो पिताको नाममा छुट्टाइएको बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

आर्थिक वर्ष २०७९–८० को वार्षिक कार्यक्रममा आफ्नो पिता गोबर्द्धन शर्माको नाममा दुई कार्यक्रम समावेश गरेका थिए। पिताको नाममा राज्यको ढुकुटीबाट ६० लाख रुपैयाँ छुट्टाएपछि गण्डकीका मुख्यमन्त्रीको चौतर्फी आलोचना भएको थियो।

मुख्यमन्त्रीले उक्त कार्यक्रमका लागि छुट्टाइएको बजेट अन्य प्राथमिकताका कार्यक्रममा खर्चिन निर्देशन दिएका हुन्। आइतबार साँझ उनका प्रेस संयोजक भरत कोइरालाले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस