Latest News

काँग्रेसको केन्द्रीय समिति बैठक सकियो, के–के भयो निर्णय ?

Nepalese Times July 11, 2022 (1 Year ago)    487 Views

काठमाडौं ।

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आजको लागि सकिएको छ । बैठक भोलि १ बजे पुनः बस्ने गरी सकिएको हो ।

बैठकको पहिलो दिन प्रदेशका सभापतिहरूले धारणा राखेका थिए । बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्न एक जनालाई ७ मिनेटका दरले समय छुट्याइएको थियो ।

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले स्थानीय निर्वाचन परिचालन समिति र प्रवक्ता प्रकाशशरण महतले प्रचारप्रसार समितिको प्रतिवेदन बैठकमा पेस गरेका थिए ।

बैठक केही दिनसम्म चल्नेछ । बैठकबाट गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्ने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।

केन्द्रीय समिति बैठक बसिरहेको बेला पार्टी कार्यालय बाहिर भने शेखर कोइराला पक्षधर कांग्रेस कार्यकर्ताले विरोध प्रदर्शन जनाएका थिए ।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा प्रवेश गर्न खोज्दा आफ्नै कार्यकर्ताले नाराबाजी सुरु गरेका थिए । नाराबाजी अहिले पनि चलिरहेको छ ।

उनीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शन नियन्त्रणका लागि कांग्रेस पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

चुनाव भएको करिब दुई महिना हुन लाग्दा कांग्रेसले बल्ल केन्द्रीय समितिमा चुनावी समीक्षा गर्न  बैठक डाकेको छ । यसअघि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको निर्वाचनसम्बन्धी समिति र उक्त समितिअन्तर्गत केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वमा रहेको उपसमितिले स्थानीय तह चुनावको समीक्षा गरेको थियो।

प्रतिक्रिया दिनुहोस