Latest News

संवैधानिक परिषद्सम्बन्धी विधेयक तुरून्त फिर्ता गर्नुपर्छ : शेखर कोइराला

Nepalese Times July 11, 2022 (1 Year ago)    575 Views

काठमाडौं ।

नेपालीका कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सरकारले संसदमा दर्ता गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक तुरून्त फिर्ता लिनुपर्ने प्रतिक्रिया दिएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्नुअघि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

कोइरालाले अहिलेको विधेयकमा भएका प्रावधान गलत भएकाले त्यो अघि बढाउन नसकिने बताएका हुन्। ओली सरकारले ल्याएको अध्यादेशको पनि आफूहरुले विरोध गरेको भन्दै उनले अहिले आएको विधेयक पनि अघि बढाउन सकिने खालको नरहेको बताए ।

यसअघि आजै कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि आफ्नै पार्टीको सरकारले ल्याएको विधेयक फिर्ता लिनुपर्ने बताएका थिए।

यस्तै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा प्रवेश गर्न खोज्दा आफ्नै कार्यकर्ताले नाराबाजी गरेका छन् ।

सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले प्रदर्शन गरेका हुन् ।

उनीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शन नियन्त्रणका लागि कांग्रेस पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

चुनाव भएको करिब दुई महिना हुन लाग्दा कांग्रेसले बल्ल केन्द्रीय समितिमा चुनावी समीक्षा गर्न आजका लागि बैठक डाकेको छ । यसअघि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको निर्वाचनसम्बन्धी समिति र उक्त समितिअन्तर्गत केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वमा रहेको उपसमितिले स्थानीय तह चुनावको समीक्षा गरेको थियो।

कांग्रेसले ७५३ पालिकामध्ये ३२९ पालिका प्रमुख जितेको थियो। गठबन्धन गरेका र एक्लै जितेका ठाउँ र मतबारे विश्लेषणसहित प्रतिवेदन पनि कांग्रेसले तयार पारेको छ।

चुनावी समीक्षाबाहेक केन्द्रीय समिति बैठकमा कोषाध्यक्ष चयन गरिनुपर्ने, संसदीय समिति, कार्यसम्पादन समितिलाई पूर्णता दिनुपर्ने र विभागहरू तथा समितिहरू गठन गरिनुपर्ने एजेन्डा पनि प्रवेश हुने एक केन्द्रीय सदस्यले बताए। सभापति शेरबहादुर देउवाले छ महिनाभित्र गरिसक्नुपर्ने मनोनीत काम अहिलेसम्म गरेका छैनन्। २० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस