Latest News

यी हुन् लोसपाबाट मन्त्री बन्ने चर्चामा रहेकाहरु, यस्तो छ प्रधानमन्त्री देउवाको तयारी

Nepalese Times July 10, 2022 (1 Year ago)    367 Views

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संघीय सरकारमा सहभागी हुन तयार भएको छ । आफ्ना माग सम्बोधन भए संघीय सरकारमा सहभागी हुने र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन लोसपा तयार भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको लोसपालाई सरकारमा सहभागी हुन र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन देउवाले आग्रह गर्दै आएका छन् ।

जसपा कार्यकारिणी समिति बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूले उठाउँदै आएको माग सम्बोधन गर्न सरकार सकारात्मक भएको अवस्थामा सरकारमा सहभागी हुने जानकारी गराएका छन् ।

सरकारमा सहभागी हुन र चुनावी तालमेलका लागि गठबन्धनमा सहभागी हुन प्रधानमन्त्रीले आग्रह गरेको जानकारी गराउँदै ठाकुर र महतोले आफूहरूको माग सम्बोधन भए सोहीअनुसार अगाडि बढ्नुपर्ने हुन सक्ने बताए ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र ठाकुर, महतोबीच  प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । छलफलका क्रममा ठाकुर र महतोले नागरिकता समस्या समाधान गर्नुपर्ने, झुठा मुद्दा फिर्ता भए सरकारमा सहभागी हुन सक्ने जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।

लोसपा मधेस प्रदेश अध्यक्ष तथा कार्यकारिणी सदस्य जितेन्द्र सोनलले देउवा सरकारमा सहभागी हुनेबारे बैठकमा छलफल भएको बताए । ‘हामीले उठाउँदै आएको माग सम्बोधन गर्न सरकार तयार भए संघीय सरकारमा सहभागिताका साथै चुनावी गठबन्धनमा समेत सहभागी हुन सक्छौं,’ सोनलले भने ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवा र  नेताबीच सहमति भएपछि आगामी निर्वाचनमा गठबन्धन गर्ने र पार्टीको तर्फबाट तीन जना नेता संघीय सरकारमा मन्त्री हुनेछन् ।

लोसपाबाट शरतसिंह भण्डारी उमाशंकर अरगरिया, विमल श्रीवास्तव, चन्दा चौधरी र एकबाल मियाँ मन्त्री हुने चर्चासमेत भइरहेको छ । यसका लागि कांग्रेस, माओवादी र एकीकृत समाजवादीको एक-एक मन्त्रीलाई फिर्ता बोलाउने योजनामा प्रधानमन्त्री देउवा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस