Latest News

वरिष्ठ चिनियाँ कम्युनिस्ट नेता आज नेपाल आउँदै, क-कसलाई भेट्दै छन् ?

Nepalese Times July 10, 2022 (1 Year ago)    372 Views

काठमाडौं ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आइतबार नेपाल आउँदै छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार लिउ चारदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुग्ने भएका हुन्।

उनी विमानमार्फत आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। आगामी बुधबारसम्म यहाँ रहँदा लिउले उच्च राजनीतिक तहमा भेटवार्ता गर्नेछन्। लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट्ने कार्यक्रम छ।

बीआरआईमा चासो नदिएका परराष्ट्रमन्त्रीलाई चिनियाँ नेताले सम्झाए नेपालमा रहँदा चिनियाँ नेताले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने स्रोतले जानकारी दिएकाे छ।

एक महिनायता नेपालका प्रमुख दलसँग निरन्तर सम्पर्कमा रहेका चिनियाँ वरिष्ठ नेता लिउको भ्रमण तयारीका लागि परराष्ट्र र चिनियाँ दूतावासले समन्वय गरिरहेका छन्।

लिउले गत जुन अन्तिम साता माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग अलग अलग भिडिओ वार्ता गरेका थिए।
उनले परराष्ट्रमन्त्री तथा कांग्रेस नेता नारायण खड्कासँग गतसाता मात्रै भिडिओ कुराकानी गरेका थिए।

लिउ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता हुन्। चीनमा उनको हैसियत मन्त्रीसरह हुन्छ। ५८ वर्षीय नेता लिउ चीनका पूर्व वरिष्ठ कुटनीतिज्ञ हुन्। गत जुन महिनामा उनी चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख नियुक्त भएका थिए।

तत्कालीन विदेश विभाग प्रमुख सोङ् थाओको स्थानमा लिउ नियुक्त भएका हुन्। त्यसैले अब हुन लागेको उनको नेपाल भ्रमण परिचयात्मक भनिएको छ।

तर जानकार सरकारी अधिकारीहरुका अनुसार चिनियाँ वरिष्ठ नेताको भ्रमणमा पार्टीगत, द्विपक्षीय र भूराजनीतिक गरी तीन आयाम छन्। नेपालका राजनीतिक दलसँग सिपिसीको सम्बन्ध विस्तार गर्नु उनको भ्रमणको एउटा एजेन्डा हो। त्यसैगरी नेपालका वामपन्थी दलबीच चुनावी तालमेल सम्भावनाबारे अध्ययन गर्नु उनको अर्को एजेन्डा रहने बुझिएको छ।

चीनले नेपालका वामपन्थी शक्तिलाई चुनावमा मिलेर जान सुझाव दिँदै आएको छ। यद्यपि चीनले प्रमुख सत्तारुढ कांग्रेससँग पनि समानान्तर रुपमा सम्बन्ध राख्दै आएको छ।

त्यही क्रममा परराष्ट्रमन्त्री समेत रहेका कांग्रेस नेता खड्कासँग गत असार १७ गते चिनियाँ नेता लिउको भिडिओ वार्ता भएको छ। लिउको भ्रमणपछि परराष्ट्रमन्त्री खड्का चीन जाने सम्भावना रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस