Latest News

सकियो प्रचण्ड र वामदेव गौतमबीचको भेटवार्ता, के–के भयो कुराकानी ?

Nepalese Times June 30, 2022 (1 Year ago)    335 Views

काठमाडौं । नयाँ पार्टी घोषणा गरेका नेता वामदेव गौतमले वाम एकता बनाउन दौडधुप तिब्र पारेका छन् । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक गौतमले बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका छन् ।

गौतम प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । बिहीवार बिहान उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई उनकै निवास बालकोट पुगेर भेट गरेका थिए । प्रचण्डसँग पनि गौतमले आगामी चुनाव अघि नै वाम दलबीच सहकार्य गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

गौतमले मंगलवार नयाँ दल घोषणा गर्दै आफू वाम दलबीच एकताको अभियानमा लाग्ने घोषणा गरेका थिए । तत्कालिन नेकपा विभाजित भएयता गौतम कुनै पनि दलमा लागेका थिएनन् ।

गौतमले कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् भने आफ्नो पार्टीले ३ महिनासम्म एकताका लागि पहल गर्ने गौतमले यसअघि नै घोषणा गरिसकेका छन् । सोही घोषणाअनुसार गौतमले दौडधूप बढाएका हुन् ।

वामपन्थी एकताको अभियान सञ्चालन गर्ने भनेका गौतमले ओलीसँग भेट्न बुधबारै समय लिएका थिए । बालकोट पुगेका गौतमलाई ओलीले नेकपा विभाजनमा प्रचण्ड–माधव र झलनाथसँगै गौतमको पनि भूमिका रहेको बताएका छन् ।

त्यसबेला बलियो पार्टी बनाउने, देश बनाउने भन्दा पनि कसले के खाने कसले के पाउने भन्नेमा सबैजना लागेको भन्दै ओलीले भने, ‘अहिले नै चाहियो भनेर मलाई घेराबन्दी गरेर पार्टी कब्जा गर्न खोज्दाका परिणामहरू पछि देखिएका हुन् ।’

भेटमा गौतमले अध्यक्ष ओलीसँगको भेटमा पुरानो मित्रता कायमै राखेर जाने सहमति भएको बताएका छन्। दुईजनाको मित्रतापूर्ण विगतबारे सम्झना गरेको बताए। ‘हामीले मित्रतापूर्ण विगतको सम्झना गर्‍यौं,’ गौतमले भने, ‘अब पनि मित्रता कायम राखेर जाऊँ भन्ने कुरामा सहमति भएको छ।’

एमाले अध्यक्ष ओलीलाई भेट्न गौतम बिहीबार बिहान बालकोट पुगेका थिए। भेटमा उनले आफ्नो ३ महिने अभियानबारे ओलीलाई लिखित जानकारी गराएका थिए।

‘हामीले कम्युनिष्ट पार्टीहरूबीच एकता गर्ने गरी गरेका निर्णयहरूबारे मैले उहाँलाई जानकारी गराएँ,’ उनले भने, ‘उहाँ त्यसमा बोल्नुभएको छैन। उहाँलाई मैले हाम्रो निर्णयहरु लिखित रुपमा जानकारी गराएको छु।’

गौतम नेपालका कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्ने अभियानमा जुटेका छन्। उनले नयाँ दल घोषणा गर्दै तीन महिनासम्म एकीकृत गर्ने अभियानमा जुट्ने र सम्भव नभए दल दर्ताको अभियानमा अघि बढ्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस