Latest News

रामबहादुर बम्जन मन्त्रीकै संरक्षणमा लुकेर बसेको खुलासा, कहाँबाट ल्याएका थिए यति धेरै पैसा ? (भिडिओसहित)

Nepalese Times January 10, 2024 (3 Month ago)    566 Views

काठमाडौं । भन्नलाई त परिवार, धन, सम्पत्ति सबै त्यागेर तपस्वी बनेको भनेर देश तथा विदेशमा ख्याती कमाए, विश्व विख्यात व्यक्ति भए । सानो गौतम बुद्ध अर्थात ‘लिटिल बुद्ध’ नै भनेर चिनिए । १० महिनासम्म एकै ठाउँमा तपस्या गरेको विषयले पनि चर्चा पायो । विदेशीहरुसमेत उनलाई हेर्न भनेर आए ।

आखिरिमा उनको असली रुप यसैगरी उदांगो भयो । उनको मुखुण्डो केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले ह्वाँगै पारिदियो । प्रहरीले उनको निवासमा छापा मार्दा ३ करोड ३४ लाख रुपैयाँ नेपाली मुद्रा भेटियो । त्यति मात्रै होईन, १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको अवैध मुद्रा पनि बरामद भयो । यसले के प्रष्ट पार्छ भने, उनको यो कालो धन्दा नेपालमा मात्रै छैन, अरु १७ वटाभन्दा धेरै देशका अपराधीहरुसँग चोचोपोचो मिलाएर यस्तै आपराधिक शृङ्खला चलाईरहेका थिए ।
रामबहादुर बम्जन जसले न त कुनै ईलम गरेका छन्, न त कुनै व्यापर व्यवसाय नै । आखिर उनले यत्तिका धेरै पैसा कहाँबाट ल्याए होलान् ? यसको सिधासाधा जवाफ छ तपस्वी भेषमा अपराध कर्म ।

आफूलाई लिटल बुद्ध बताउने तर बाल यौन दूराचार, हत्या र ठगी घटना निम्त्याउँदै हिँड्ने रामबहादुर बम्जनले महँगो मूल्य पर्ने ल्यान्डक्रुजर गाडी चढ्ने तरखर गर्दै थिए । ५ करोडको गाडी किन्नका लागि उनले धुम्बाराहीको एउटा कम्पनीलाई ३ करोड रुपैयाँ एडभान्स बुझाइसकेका थिए । भलै उनले त्यो सपना भने पुरा गर्न सकेनन् । पाप धुरीबाट कराउँछ भनेझै धर्मको आवरणमा यस्ता पाप कर्म गर्दै हिँडेका उनको पापकर्म काठमाडौंको बुढानिलकण्ठबाट कराएरै छाड्यो ।

उनले व्यक्तिगत प्रयोजनका लागि मोबाइल मात्रै १४ वटा बोक्दा रहेछन् । सीआईबीले सार्वजनिक गरेको तथ्यहरुले बम्जनको बिलासी जीवन प्रतिविम्बत गर्छ । उनले कमाएको सम्पत्तिको कुनै स्रोत खुलेको भेटिँदैन । उसो त शक्तिकेन्द्रहरुलाई प्रभावित पारेर बारा, सिन्धुली लगायत ठाउँमा सार्वजनिक सम्पत्ति ओगटेर रजगज चलाइरहेका उनी केही वर्षयता बेपत्ताजस्तै थिए ।

उनी यत्तिका वर्षसम्म कहाँ के गरिरहेका थिए भन्ने कसैलाई पनि थाहा थिएन । केन्द्रीय अनुसन्धान ब्यूरोमा देखिएको एउटा दृश्यले पनि रामबहादुर बम्जन शक्तिकेन्द्रहरुकै आड भरोसामा अहिलेसम्म बच्दै आएको विषय पुष्टि भएको छ । यसले उनलाई कतै न कतैबाट राजनीतिक संरक्षण रहेकोसमेत खुलेआम पुष्ट्याईं भएको छ ।

पूर्वराज्यमन्त्री यशोदा लामा सीआईबी कार्यालय पुगेर बम्जनको बारेमा गलत प्रचार गरिएको भन्दै बचाउ गरिन् । बमजनलाई भेट्न पुगेकी पुर्वराज्यमन्त्री यशोदाले उनको बचाउ मात्रै गरिनन्, फसाउन खोजिएको भन्दै असन्तुष्टि नै पोखिन् । २०७४ सालमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी लामालाई त्यतिबेला विजय कुमार गच्छदारले राज्यमन्त्री बनाईदिएका थिए । अहिले उनै राज्यमन्त्री भईसकेकी यशोदालेसमेत रामबहादुर बम्जनको बचाउ गरेको देख्दा चाहीँ उनी राम्रै शक्तिकेन्द्रको संरक्षणमा अहिलेसम्म बच्दै आएको पुष्टि भएको छ ।

यसरी धर्मको आवरणमा अपराध शृङ्खला चलाउने रामबहादुर बम्जनहरुलाई नियन्त्रणमा लिन नसके अझ अरु थुप्रै पापकर्महरुलाई प्रसय मिल्ने प्रष्ट हुन्छ । धर्मको नाम बेचेर अधर्मी काम गर्दै हिँड्ने, यौन शोशरणदेखि मान्छे नै गायब बनाउनेसम्मका कुकर्म गर्ने यस्ता अरु थुप्रै पात्रहरुलाई खोजीखोजी कठघरामा उभ्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस