Latest News

म्याग्दीमा ज्यान गुमाउनेको संख्या २ पुग्यो, एकजना समातिए 

Nepalese Times January 7, 2024 (3 Month ago)    1124 Views

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–७, बिममा शनिबार दिउँसो भएको घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।  धारिलो ढुंगा प्रहार गरिँदा गम्भीर घाइते भएकी स्थानीय सात वर्षीया प्रियंका गर्बुजाको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा अपराह्न मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।

प्रियंकाकी हजुरआमा ७० वर्षीया मनीषा गर्बुजाको मालिका–७ को लुरवाङस्थित घटनास्थलमै ज्यान गएको थियो । हेलिकोप्टरबाट पोखरा लगिएकी प्रियंकालाई पनि चिकित्सकले मृत घोषणा गरेका छन् । चिर्पट प्रहार गरिँदा घाइते भएकी ६६ वर्षीया अमृता जुग्जालीको मणिपाल अस्पतालमै उपचार भइरहेको छ । चिकित्सकले जुग्जाली खतरामुक्त रहेका बताएका प्रनाउ कुँवरले जानकारी दिए ।

हजुरआमालाई दरवाङ–मराङ सडकमा रगताम्मे देखेपछि बचाउन गएकी प्रियंकाको टाउकोमा छपनी प्रहार गरिएको थियो । प्रियंकाका भाइ प्रिन्सले भने घरको खाटमुनि लुकेर ज्यान बचाएका थिए । मनीषाका छोरा र बुहारी खेतमा काम गर्न गएका समयमा घटना भएको थियो ।

लुरवाङको माथि जंगलमा घाँस काट्दै गरेका अमृता र अर्की एक महिलामाथि पनि चिर्पट प्रहार गरिएको थियो । प्रतिकार गर्ने क्रममा अमृता घाइते भएकी हुन् । बिम तल्लो गाउँनजिकै एउटा ट्याक्सी पनि तोडफोड गरिएको स्थानीयले बताएका छन् । हत्या र आक्रमणमा संलग्न भएको आरोपमा मालिका–७, बिमवाङबाट स्थानीयले ‘मानसिक सन्तुलन ठिक नभएका’ एक व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस