Latest News

प्रकाश ज्वाला मन्त्रीबाट फिर्ता हुने, नयाँ मन्त्रीका लागि प्रेम आले र मेटमणी चौधरीको चर्चा

Nepalese Times January 2, 2024 (4 Month ago)    637 Views

काठमाडौं । बालकुमारी घटनामासमेत जोडिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको मन्त्री पद धरापमा परेको छ । नेकपा एकीकृत समाजवादीले उनलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि कामै गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर नयाँ सेट निर्माण गरेर आफ्नो स्पिरिड बढाउने भनिरहेका छन् । यस्तोमा प्रधानमन्त्री प्रचण्डको नयाँ मन्त्रिपरिषद्मा भौतक पूर्वाधारमन्त्री ज्वाला नअट्ने भएका हुन् ।

मन्त्री ज्वालालाई हटाएर नयाँ मन्त्रीको नाम पठाउने तयारीमा अध्यक्ष माधव कुमार नेपालले गृहकार्य सुरु गरिसकेका छन् । मन्त्री ज्वालाले कार्यकाल सम्हालेको ९ महिना बितिसक्यो । तर, उनले जुन दिनदेखि कार्यकाल सुरु गरे, विकास पूर्वाधार निर्माणका महत्पूर्ण कामहरु झनझन सुस्त हुँदै जाँदा अध्यक्ष माधव नेपाल नै असन्तुष्ट छन् । ९ महिनाको अवधिमा मन्त्रालयको समिक्षा गर्ने नै हो भने पनि स्मार्ट लाइसेन्स ७ महिनादेखि वितरण ठप्प भएको छ ।

साढे १३ लाख सेवाग्राही चिर्कटोका भरमा हिँडिरहेका छन् । इम्बोस्ड नम्बर अनिवार्य भनिए पनि ७ वर्षमा ५५ हजार सवारीसाधनमा मात्र जडान गरिएको छ । सूर्यविनायक–रत्नपार्क द्रुत बसका नाममा २ करोड खर्च भएको छ । तर अव्यावहारिक र झन्झटिलो भएकाले कार्यान्वयन फितलो देखिन्छ । यो काममा कार्यकर्ता पोस्ने काम मात्रै भएको भनेर मन्त्री ज्वालाको चर्को आलोचना भयो । नौबिसे–मलेखु–मुग्लिङ सडक निक्कै सूस्त छ । पोखरा–मुग्लिङ सडकको अवस्था पनि उस्तै छ ।
नारायणगढ–बुटवल सडकको बिजोग अवस्था छ ।

मध्यपहाडी, हुलाकी, कर्णाली, कोशी, कालीगण्डकी करिडोरलगायत गौरवका आयोजना म्याद थपको भरमा अघि बढिरहेको छ । ९ महिना बितिसक्दा पनि कामै गर्न नसकेको भनेर मन्त्री ज्वालाले चौतर्फी हप्की खाईरहेका छन् । काम नै गर्न नसकेको भनेर चर्को आलोचना भईरहँदा बालकुमारी घटनाले उनलाई थप विवादमा तानेको छ ।

त्यस घटनालाई लिएर देशका विभिन्न ठाउँमा मन्त्री ज्वालाको पुत्ला जलाउन थालिएको छ । यस्तोमा प्रनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समेत बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्रीको भूमिकाका बारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । आफूले जिम्मेवारी सम्हालेको मन्त्रालयमार्फत गर्नुपर्ने कामहरु गर्न नसकिरहेको समयमा बालकुमारी घटनामा जोडिएका उनलाई उनको पार्टी नेकपा एकीकृत समाजवादी पार्टीले फिर्ता बोलाउने तयारी गरेको हो । उनलाई फिर्ता बोलाएर उनको ठाउँमा कसलाई मन्त्री बनाउने भन्नेबारे पार्टीभित्र आन्तरिक छलफल सुरु भएको छ । स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीभित्र प्रेम बहादुर आले र मेटमणी चौधरीलगायत सांसदहरु मन्त्री बन्न जोडबल गरिरहेका छन् ।

मन्त्री बन्न पाउनुपर्ने सूचीमा किसान श्रेष्ठसमेत रहेका छन् । यसअघि मन्त्रिपरिषद् विस्तार हुँदासमेत आफूलाई मन्त्री नबनाएकोमा असन्तुष्ट रहेका प्रेम आले अहिले प्रकाश ज्वालालाई फिर्ता बोलाएको खण्डमा आफूलाई मन्त्री बनाउनुपर्ने भनेर अलि बढि जोड गरिरहेका छन् । किसान श्रेष्ठले यो कार्यकालमा मन्त्री बन्ने रहर गरेपनि अध्यक्ष माधव नेपाल भने अलि बढि दबाब दिईरहेका प्रेम आले र मेटमणी चौधरीमध्ये एकजनालाई मन्त्री बनाउने सुरसार कसेका छन् ।

उनीहरु यसअघि मन्त्री भईसकेका व्यक्तिहरु हुन् । आफ्नो कार्यकालमा पर्यटनमन्त्री हुँदा प्रेम आलेले केही चर्चा कमाएका थिए । अहिले फेरि मन्त्री बन्ने सूचीमा आफू नै निर्विकल्प भएको भन्दै प्रेम आले हिँडिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस