Latest News

बाँकेको नौबस्तास्थित बालसुधार गृहमा तनाव, स्थिति नियन्त्रणमा लिने प्रयास

Nepalese Times January 1, 2024 (4 Month ago)    350 Views

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–६ नौबस्तास्थित जयेन्दु बाल सुधार गृहमा फेरि तनाव सिर्जना भएको छ । स्थिति नियन्त्रणमा लिने प्रयास जारी छ ।

आईतबार दिउँसो तीन–चार बजेदेखि तनाव सुरु भएको थियो । बालसुधार गृहमा राखिएकाहरु आफू–आफूमा लड्ने र सुधारगृह तोडफोड गर्ने गरेका छन्,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी नारायण डाँगीले भने, ‘स्थिति नियन्त्रणमा लिने प्रयास जारी छ ।’

घटनामा केही व्यक्तिहरु सामान्य घाइते भएका छन् । उनीहरुले कसैलाई पनि सुधारगृह भित्र प्रवेश गर्न नदिएकाले भित्रको अवस्था विस्तृतमा थाहा हुन सकेको छैन ।

बाल सुधार गृहमा सिभिलमा खटिएका प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि नेपालगञ्जबाट थप प्रहरी टोली गएका थिए । तर प्रहरीलाई सुधार गृहमा बल प्रयोग गर्ने अधिकार नभएकाले स्थिति नियन्त्रणमा आउन सकेको छैन । यद्यपि अवस्था सामान्य बनाउने प्रयास भइरहेको बाँके प्रशासनले जनाएको छ ।

गए राति मानव अधिकार आयोगको क्षेत्रीय कार्यालयका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहितको टोली सुधारगृह पुगेर फर्किएको थियो । यसअघि पनि बाँकेको जयेन्दु बालसुधार गृहमा झडप, आगजनी र तोडफोडका घटना भएका थिए । सो घटनामा परी रुपन्देहीका २१ वर्षीय युवकको ज्यान समेत गएको थियो भने एक दर्जन बढी घाइते भएका थिए । भक्तपुर र वीरगञ्जका बालसुधार गृहमा पनि तनाव सिर्जना भएको थियो ।

प्रतिक्रिया दिनुहोस