Latest News

सन्दीप लामिछानेलाई पक्राउ गर्ने तयारी, कहाँ छन् उनी ?

Nepalese Times December 30, 2023 (4 Month ago)    1002 Views

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेसँगै प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले आज (शुक्रबार) लामिछानेलाई दोषी ठहर गरेको हो । अदालतले दोषी ठहर गरेसँगै प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको हो ।

अदालतको पूर्णपाठ प्राप्त भएपछि कानुन अनुसार लामिछानेलाई पक्राउ गर्ने नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए । उनले भने, ‘अहिले अदालतको पूर्णपाठ आइसकेको छैन, पूर्णपाठ आएपछि कानुन अनुसार प्रहरीले पक्राउ गर्छ ।’

काठमाडौंदेखि नगरकोट गई फेरि काठमाडौं फर्किएर काठमाडौं होटल इनमा एकै कोठामा बसेको र करणी भएको देखिएको अदालतको आदेशमा उल्लेख छ। अदालतले पीडित भनिएकी गौशला-२६ लाई भने नाबालिग नरहेको ठहर गरेको छ। विभिन्न कार्यालयमा देखिएको तथ्यांकबाट पीडित नाबालिग नरहेको अदालतले ठहर गरेको हो ।

कति हुन्छ सजाय ?
सन्दीपको मुद्दामा मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने न्यायाधीशले फैसला गरेको छ । यो व्यवस्था अनुसार लामिछानेलाई ७ देखि १० वर्ष जेल सजाय हुने छ ।

लामिछानेको जेल सजय भने निर्धारण भइसकेको छैन । न्यायाधीशले सजाय निर्धारणका लागि पेश गर्न आदेश गरेका छन् । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । त्यसका लागि पुस २५ गते सुनुवाइ हुने छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

कहाँ छन् सन्दीप ?

राष्ट्रिय क्रिकेट टोलीका सदस्य क्रिकेटर लामिछाने अहिले नेपाल प्रो(क्लब च्याम्पियन टी–२० क्रिकेट खेल्न वीरगन्ज पुगेका छन् । उनी पर्सा –११ को कप्तान हुन् । लामिछाने कप्तान भएको पर्सा– ११ प्रो क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

प्रतियोगिताको उपाधिका लागि पर्सा— ११ र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । शुक्रबार भएको दुई वटा सेमिफाइनल खेलको नतिजाअनुसार यी दुबै टिम फाइनलमा भिड्ने भएका हुन् । सेमिफाइनलमा पर्सा ११ ले नेपाल आर्मीलाई ३१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

नेपाल पुलिसले भारतको वन्डर्स क्लब नोयडालाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । यी दुबै टोलीबीचको फाइनल खेल शनिबार वीरगञ्जको नारायणी क्रिकेट रङ्गशालामा हुने छ ।

प्रतिक्रिया दिनुहोस