Latest News

आफ्नै हजुरबाले एक हप्ताकी नातिनी शिशु बेचेको खुलासा

Nepalese Times December 27, 2023 (4 Month ago)    339 Views

विराटनगर । झापा बुद्धशान्तिकी एक युवती बेसहारा छिन् । उनी अर्कैको घरमा बसेर ‘प्लस टु’ पढ्दै थिइन् । अचानक उनको महिनावारी रोकियो । पहिले पनि महिनावारी नियमित थिएन । लामो समय महिनावारी रोकिएपछि छरछिमेकले सोधीखोजी गरे । शङ्का लागेको केटोलाई केटीको अगाडि केही सम्बन्ध छ कि भनेर सोध्दा केटाले अस्वीकार गर्यो । त्यसपछि युवतीले उक्त युवासँग मोबाइलमा भएका म्यासेजहरु छिमेकीलाई देखाइन् । छिमेकीले केरकार गरेपछि केटाले आफूले सम्बन्ध राखेको स्वीकार गरे । त्यसपछि युवती गर्भवती भएको शङ्का लागेर चेकजाँच गर्दा ८ महिनाको गर्भ रहेको थाहा भयो ।

त्यसपछि ती युवतीसँग सामान्य टीकाटालो गरेर छिमेकी केटालाई गाउँलेले युवती जिम्मा लगाए । तर, केटाको परिवारले भने आठ महिनाको बच्चा भएको थाहा पाइसक्दा पनि युवतीलाई गर्भपतन गर्न दबाब दिइरहे । एक महिनापछि ती युवतीले छोरी जन्माइन् । तर, बच्चाको रेखदेख भएन । बरु बच्चा बिक्रीको प्रपञ्च रचियो । उक्त बच्चालाई सिक्किमको एक प्रधानको घरमा भारतीय रुपैयाँ २ हजार ५ सयमा बिक्री गरेको स्रोतको दाबी छ । यो घटना झापा, बुद्धशान्ति–३ मा बसोबास गर्ने पुरन भट्टराई र बुद्धशान्ति–२ मा अर्काको घरमा बस्दै आएकी एक युवतीबिचको हो । पीडित युवती भर्खरै वर्षले १८ पुगिन् ।

छोरी जन्मेको ६ दिनमा पुरन र उनका बाबुले आमा र छोरीलाई सिक्किम लगेर सन्तानबिहीन प्रधान थरका व्यक्तिलाई शिशु बिक्री गरेका थिए । उनीहरुको अवैध सम्बन्ध रहेको र गर्भ बसेको थाहा पाएपछि २०७९ पुस २७ मा विवाह गरेको एक निवेदनमा उल्लेख छ । पीडित युवतीले २०८० भदौ २५ गते छोरी जन्माएकी थिइन् । तर, छोरी जन्मेको ६ दिनमा पुरन र उनका बाबु भीमप्रसाद भट्टराईले आमा र छोरीलाई सिक्किम लगेर सन्तानबिहीन प्रधान थरका व्यक्तिलाई शिशु बिक्री गरेका थिए । ‘आफ्नो बच्चा खोइ भनेर सोध्दा भट्टराई परिवारले ‘नानी काठमाडौँमा छ’ भनेर जवाफ दिने गरेका थिए,’ ती युवतीले निवेदनमा भनेकी छन् ।

उनकी छिमेकी प्रकृति रिजालले सामाजिक सञ्जालमा घटनाको विषयमा एक भिडियो पोष्ट गरेकी छन् । उक्त भिडियोमा ‘विवाहपछि केटीलाई घरमा नराखेर अर्कैको घरमा राखेको, बच्चा जन्मिँदासम्म कुनै हेरबिचार नगरेको, बच्चा जन्माएको ६ दिनमा सार्वजनिक बसमा भारत पानीटंकीसम्म लिएर आएको’ उल्लेख गरेकी छन् । उनले एक हप्ताको सुत्केरीलाई आराम दिनुको सट्टा उक्त परिवारले सार्वजनिक बसमा सिक्किम पुर्याएको र बच्चा बिक्री गरेको दाबी गरेकी छन् ।

बच्चा बिक्री गरेर नेपाल फर्किएपछि युवती भागेर झापा विर्तामोडस्थित बुट्टाबारीमा रहेको नाताले दाजु पर्नेको घरमा पुगिन् । आफ्नो बच्चा बिक्री भएको सुनाएपछि गाउँलेहरु भेला भए र तुरुन्त बच्चा फिर्ता ल्याउन भट्टराई परिवारलाई दबाब दिए । त्यसपछि भट्टराईले शिशु फिर्ता ल्याए । तर, युवतीमाथिको हिंसा भट्टराई परिवारबाट रोकिएन । भट्टराई परिवारले बच्चाको स्याहार सुसारको लागि खर्च नदिँदा ती युवतीले मागेर जीवन गुजारेको आफूले देखेको छिमेकी बताउँछन् ।

यस्तै बच्चालाई अन्तै कतै छोडेर विदेश जान युवतीलाई दबाब दिने गरेको पनि उनीहरुको दाबी छ । घरमा रहँदा पनि युवतीमाथि अनेक खालका गाली गलौज र हिंसाका घटना भइरहने गरेको छिमेकी दाबी गर्छन् । घटनाको विषयमा सोमबार बुद्धशान्ति गाउँपालिकाका वडाध्यक्ष अनिल वाग्लेको रोहबरमा छलफलसमेत भएको थियो । उर्लिएर पुगेका गाउँलेसामू भट्टराई परिवारले बुहारी स्वीकार गर्ने भन्दै जिम्मा लिएर गए । यद्यपि ती युवती र शिशुको अवस्था खतरामुक्त नरहेको छिमेकी बताउँछन् ।

भट्टराई बाबुछोरा नै पण्डित्याइँ गर्दछन् । तर, उनीहरुले हालसम्म तीन महिनाको शिशुको न्वारानसमेत नगरेको युवतीले बताएकी छन् ।
‘यो विषयमा मौखिक रुपमा निवेदन आएको थियो । त्यसपछि बुहारीको रुपमा भीम भट्टराईले र श्रीमतीको रुपमा पुरनले स्वीकार गरेपछि त्यही अनुसार हामीले सहमति गरेर पठाइदियौँ,’ वडाध्यक्ष वाग्लेले भने, ‘उहाँहरुबिच केही विषयमा विवाद थियो, उक्त विवाद हामीले मिलाएर पठाइदियौँ । अबदेखि विगतका कमजोरी नगर्ने भन्ने मौखिक सहमति भएको छ ।’

भट्टराई बाबुछोरा नै पण्डित्याइँ गर्दछन् । तर, उनीहरुले हालसम्म तीन महिनाको शिशुको न्वारानसमेत नगरेको युवतीले बताएकी छन् । ‘निज व्यक्तिले आमा छोरीको भविष्यमाथि ठूलो खेलवाड गरी आएको हुँदा यस कार्यालयबाट निज व्यक्तिलाई झिकाई छलफल गरी निजका छोरी र श्रीमतीलाई जिउन औषधि उपचार, लत्ता कपडा सम्पूर्ण मानव जीवनका लागि आवश्यक पर्ने कुराहरुको बन्दोबस्त पार्न लगाई आमा र छोरीलाई न्याय दिलाइ दिनुहुन निवेदनका साथ अनुरोध गर्दछु,’ पुस ९ गते पीडित युवतीले सनातन हिन्दु राष्ट्र अभियान नेपाल जिल्ला समिति झापालाई दिएको निवेदनमा उल्लेख छ ।

पण्डित परिवारले ती युवतीलाई उनको नाङ्गो भिडियो बनाएर फेसबुकमा हाल्दिने धम्की पनि दिने गरेको छ । केटा पक्षले अर्को केटीसँग विवाहको तयारी समेत गरेको थाहा पाएको रिजालले दाबी गरेकी छन् । ‘हजारौँ मान्छेहरूको अगाडि ब्यासमा बसेर पुराण भन्ने पण्डितबाटै यो कर्म हुन्छ भन्ने कसरी सुन्नु ?,’ प्रगति रिजालले आफ्नो फेसबुकमा शेयर गरेको भिडियोमा उल्लेख गरेकी छन् । पण्डित परिवारले ती युवतीलाई उनको नाङ्गो भिडियो बनाएर फेसबुकमा हाल्दिने धम्की पनि दिने गरेको स्रोतको दाबी छ । केटा पक्षले अर्को केटीसँग विवाहको तयारी समेत गरेको थाहा पाएको रिजालले दाबी गरेकी छन् ।

यता, पण्डित भीमप्रसाद भट्टराईले भने घटना मिलाइसकेको बताए । नातिनीलाई बिक्री गर्न चाहिँ लानु भएको हो कि होइन ? भन्ने प्रश्नमा उनले भने, ‘बिक्री गर्न लगेको भए हाम्रो नातिनी हामीसँग हुन्छ ? भन्नु त ?’ जन्मदर्ता किन नगराउनु भएको भन्ने प्रश्नमा भोलि दर्ता गराइदिने उनले बताए ।

सिक्किमा लगेर बेचेको भन्ने कुरा गलत रहेको उनले बताए । ‘मैले बुहारी र नातिनीलाई दुःख दिएको होइन । मेरी श्रीमती फोक्सोको बिरामी थिइन् । त्यसपछि मैले सालीको घरमा लगेर बुहारीलाई राखेको हो । हाम्रो परिवार हामी मिलेका छौँ । बुहारी स्वीकार गरेर राखेका छौँ । भदौमै ल्याएर राखेका हौँ । पछि हामी बाउछोरा नै गएर लिएर आएका हौँ । नानी पनि सँगै लिएर आएका हौँ । बुहारी सिधा छिन् । उनलाई सिकाएर अरुले उक्साएर यस्तो भएको हो,’ उनले भने, ‘बेचिसकेको नानी फेरि कसले ल्याउन सक्थ्यो त ? प्रमाणित हुनु परेन ? अप्रमाणित बोलेर भएन नि ? यो एकपक्षीय हिसावले हाम्रो परिवारमाथि कसैले खेलवाड गर्न खोजिएको हो । त्यस्तो केही होइन ।’

सनातन हिन्दु राष्ट्र नेपालमा परेको उजुरीमाथि भने आजै छलफल हुने उनले बताए । तपाईंले न्वारान पनि गरिदिनुभएन अरे भन्ने प्रश्नमा उनले भने, ‘हामीले लक्ष्मी नाम राखेर घरमा न्वारान गरेका छौँ ।’ भिडियो किन आयो त ? त्यसविरुद्ध उजुरी दिनुहुँदैन भन्ने प्रश्नमा उनले भने, ‘नानीको जन्म दर्ता गरेपछि भिडियो हाल्नेले भिडियो नै हटाउने भनेको छ । मान्छेले गरी खाएको देखिसहेनन् ।’

ती युवतीले सनातन हिन्दू राष्ट्र अभियान नेपाल जिल्ला समिति झापालाई दिएको निवेदनमा भने ‘मिति २०८० भदौ २५ मा एक सन्तान छोरीको जन्म भएको छोरी जन्मेको ६ दिनमा बाबुले सो नानीलाई सिक्किम लगी एक शाखा सन्तानहरु नभएको व्यक्ति प्रधान थरका व्यक्तिलाई लगेर विक्री गरेको र आमाले सोध्दा नानी काठमाडौँमा छ भनेर ढाँटीरहेका र बाबु पुरन भट्टराईलाई भेट गरी पञ्चभलाद्मी राखी बच्चालाई र बुबा दुवैलाई नेपाल स्थायी बसोबास गरेको स्थानमा ल्याएको’ उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस