Latest News

दिलभुषण पाठकले कान्तिपुर टेलिभिजन छाडे, अबको यात्रा कता ?

Nepalese Times December 24, 2023 (4 Month ago)    1318 Views

काठमाडौं । कान्तिपुर टेलिभिजनमा सम्पादकीय नेतृत्व परिवर्तन भएको छ । प्रधान सम्पादक दिलभुषण पाठकले राजीनामा दिएका छन् । पाठकको बिदाईसँगै प्रधान सम्पादकमा विजय पौडेल आउने भएका छन् । यस्तै कान्तिपुर टिभीको सम्पादकमा रुपेश श्रेष्ठले जिम्मेवारी पाएका छन् ।

यी निर्णयहरू औपचारिक रुपमा घोषणा हुन बाँकी छ । हामीले सम्पर्क गरेका सबैजसो श्रोतहरूले यसको पुष्टि गरेका छन् । तर घोषणा बाँकी रहेको भन्दै औपचारिक प्रतिक्रिया दिन स्रोतहरू मानेनन् ।

लोकप्रिय कार्यक्रम टफ टकका प्रस्तोतासमेत रहेका पाठक २०७८ भदौ १ गतेदेखि कान्तिपुर टेलिभिजनको प्रधान सम्पादक थिए । पाठकले यसअघि २०७२ सालको भूकम्प र मुलुकले संघीयता कार्यान्वयन गर्दै तीन तहको निर्वाचनमा होमिँदा कान्तिपुर टेलिभिजनमा कुशलतापूर्वक सम्पादकीय नेतृत्व गरेका थिए । त्यसपछि प्रशान्त अर्यालले साढे तीन वर्ष कान्तिपुर टिभीमा प्रधान सम्पादक रहे ।

कान्तिपुर टेलिभिजनमा करिब एक दशक काम गरेका पौडेलले लोकप्रिय कार्यक्रम ुसरोकार पनि सञ्चालन गर्दथे । उनले २०७२ सालमा कान्तिपुर छोडेका थिए । २०७५ सालमा उनी नेपाल लाइभ अनलाइनमा सम्पादक भए ।

पौडेलले २०५६ मा रेडियो सगरमाथाबाट पत्रकारिता सुरु गरेका थिए । पौडेलसँग च्यानल नेपाल, कान्तिपुर टेलिभिजन, एपीवान टेलिभिजन र इमेज च्यानलमा काम गरेको अनुभव छ । इमेज च्यानलमा उनले ‘सम्भाष’ कार्यक्रम सञ्चालन गर्थे । हाल उक्त कार्यक्रम हिमालय टिभीमा आउँथ्यो ।

कान्तिपुर टेलिभिजनमा सम्पादकको जिम्मेवारी पाएका रुपेश श्रेष्ठ श्रव्यदृश्यमा लोकप्रिय पत्रकार हुन् । २०५९ सालमा रेडियो नेपालको १०० मेगाहर्जमा क्लासिक एफएमबाट सुरु भएको उनको टेलिभिजन पत्रकारिता भने कान्तिपुर टेलिभिजनबाटै भएको हो ।

२०६३ मा कान्तिपुर टेलिभिजनमा काम थालेका रुपेश २०७२ भदौमा त्यहाँबाट बिदा भए । पछि २०७७ देखि उनले कान्तिपुरमा लोकप्रिय कार्यक्रम फायर साइड सञ्चालन गरे ।

एपीवान टेलिभिजनमा पनि उनले सम्पादकीय भूमिकामा रहेर काम गरे । पछिल्लो समयमा उनी ग्यालेक्सी फोरके टेलिभिजनमा प्रधान सम्पादक रहे । उनी पब्लिक स्पिकिङ विषयका चर्चित प्रशिक्षक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस