Latest News

बालेन र हर्कले रवि लामिछानेलाई प्रधानमन्त्री बन्न नदिने, कस्सिए मैदानमा (भिडिओसहित)

Nepalese Times December 18, 2023 (4 Month ago)    433 Views

काठमाडौं । प्रचण्ड, देउवा र ओलीलाई सत्ताको भोगी भएको आरोप लाग्दै गर्दा नयाँ उम्रिएका जनप्रतिनिधि पनि सत्ताभोगी नै देखिन थालेका छन् । अर्थात रवि, हर्क र बालेनको मिसन पनि चुवान केन्द्रीत बन्दै जाँदा आम नागरिक भने जुन जोगी आएपनि कानै चिरेको भन्न थालेका छन् ।

ओलीले प्रचण्डको कुर्सी हुत्याएर आफू प्रधानमन्त्री बन्ने दाउ खोज्दै गर्दा प्रचण्ड पनि के कम ? आफू नै सदाबहार प्रधानमन्त्रीको हो भन्ने देखाउन खोजिरहेका छन् । हुँदा हुँदा, हर्क सामपाङ, बालेन साह र रवि लामिछाने समेत आफूलाई मिसन प्रधानमन्त्रीको रुपमा उभ्याएर हिँड्न थाल्दा जनताको अवस्था परिवर्तन गर्ने मुद्दा भने ओझेलमा पर्दै गएको देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यो पटक चाहेर पनि प्रधानमन्त्री बन्न सक्दैनन् । कारण हो उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग बहुमत सांसद छैनन्, न त प्रचण्ड, ओली र देउवाहरुले नै उनलाई प्रधानमन्त्री बन्ने अफर गर्न सक्छन् । यस्तोमा जसरी हुन्छ, प्रधानमन्त्री बनेरै छाड्ने सपना बोकेका लामिछानेले मिसन ८४ अर्थात मिसन प्रधानमन्त्रीको अभियान सुरु गरिसकेका छन् । अबको ४ वर्षपछि २०८४ सालमा हुने चुनावमा पार्टीले स्पष्ट बहुमत ल्याउने र आफू प्रधानमन्त्री बन्ने लामिछानेको एक सुत्रीय दाउ छ ।


ओली र प्रचण्डको आशिर्वादमा करिब १ महिना मात्रै भएपनि गृहमन्त्री बन्ने सौभाग्य पाएका लामिछानेले आफू प्रधानमन्त्री बन्नकै लागि मिसन ८४ सुरु गर्दै गर्दा यो मिसन उनका लागि त्यति सजिलो भने छैन । उनलाई टक्कर दिन मैदानमा धरानका मेयर हर्क सामपाङ र काठमाडौंका मेयर बालेन साह उत्रिसकेका छन् ।

केही दिनअघि मात्रै मेयर बालेन र मेयर हर्कको भेटघाट भयो । त्यो भेटलगत्तै धरानका मेयर हर्क सामपाङले रवि लामिछानेको पार्टीमा नजाने भनेर स्पष्ट मात्रै गरेनन्, आफूहरु नयाँ राजनीतिक शक्ति निर्माणका लागि मिहनेनत गरिरहेको खुलासा नै गरिदिएका छन् । यता, काठमाडौंका मेयर बालेनले पनि रवि लामिछानेको मिसन ८४ लाई खिसिटिउरी गर्न थाल्दा लामिछाने भावी प्रधानमन्त्री बन्न सक्ने आधार गुम्दै गएको हो कि ? भन्ने एकाथरिको टिप्पणी छ ।

लामिछानको विपक्षमा दुई मेयर हर्क र बालेनको मोर्चाबन्दी कसिलो बन्दै गएको देखिन्छ । मेयर बालेन रविले केही गर्न सक्दैनन्, भनेर अभिव्यक्ति दिन थाल्नु, मेयर हर्कले पनि त्यस्तै खालको अभिव्यक्ति सामाजिक संजालमा छरपष्ट पार्दै जानुले लामिछानेको मिसन ८४ मेयर बालेनले भनेजस्तै ८४ गरेपछि मात्रै सफल हुने हो कि भन्ने टिप्पणी हुन थालेको छ ।

अर्थात यो भनेको रवि लामिछानेको पनि ८४ गरेर यो देशको तालाचाबी सम्हाल्न हर्क र बालेन मैदानमा ओर्लन सुरसार कसिसकेका छन् । रवि लामिछानेका लागि मेयर हर्क र बालेनसमेत तगारो बनेर आईदिँदा आम नागरिकमा लामिछानेको प्रधानमन्त्री बन्ने रहर रहरमै सिमित हुने हो कि भन्ने लाग्न थाल्नु स्वभाविकै हो ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई नियाल्ने हो भने, काठमाडौंका मेयर बालेन्द्र शाह काठमाडौंलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर अनेक योजनाहरु अघि सारिरहेका हुन्छन्, धरानका मेयर हर्कले पनि नागरिकलाई श्रममा जोड्दै खानेपनी ल्याउनेदेखि अरु थुप्रै विकास निर्माणका काममा हात हालिरहेका छन् ।

तर, रास्वपा सभापति लामिछाने भने मिसन ८४ भन्दै देश तथा विदेश दौडाह गरिरहेका छन् । आफूमाथि भरोसा गरिरहेकालाई बालेन र हर्कले भड्काउने काम नगरोस् भन्ने लामिछानेको चाहना छ । ८४ को चुनावपछि प्रधानमन्त्री बन्ने महत्वकांक्षा बोकेर हिँडेका लामिछानेका लागि हर्क र बालेनहरुकै ठेस लाग्ने पक्कापक्की भईरहँदा अबको राजनीतिक परिदृश्य कसको वरिपरि घुम्ला त ? नयाँहरु पनि प्रधानमन्त्रीको कुर्सीका लागि अहिलेदेखि नै लुछाचुडीमा देखिँदा त्यसको स्वाद फेरि पनि प्रचण्ड, देउवा, र ओलीहरुले नै पाईरहने हो कि भन्ने सम्भावनालाई बलियो बनाउँदै लगेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस