Latest News

नयाँ मन्त्रिषरिषदमा कांग्रेसलाई अर्थ मन्त्रालय, गृहसहित कुन मन्त्रालय कसलाई ?

Nepalese Times February 28, 2023 (1 Year ago)    262 Views

काठमाडौं । नेकपा एमाले र राप्रपाले सरकार छाडेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रिपरिषद्  पुनर्गठन गर्ने भएका छन् । नयाँ मन्त्रीमण्डलमा नेपाली कांग्रेस नेकपा एकीकृत समाजवादी जसपा लगायत ८ राजनीतिक दलहरुलाई समेट्ने प्रयासमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् ।

अहिले प्रधानमन्त्री प्रचण्डको साथमा एमालेले सम्हालेका ८ सहित १६ मन्त्रालय छन् । माओवादी केन्द्र र जनमत पार्टीबाहेक सरकारबाट अरु सबै दल बाहिरिएकाले पनि राष्ट्रपति चुनावअघि नै मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने विषयमा बालुवाटार बैठकमा पनि छलफल भएको थियो ।

मन्त्रालय बाँडफाँड हुँदा अब एमाले, राप्रपा र रास्वपाले छाडेकासहित प्रधानमन्त्रीसँग यसअघि नै जसपाका लागि भनेर राखिएका मन्त्रालय बाँडिनेछन् । हाल प्रधानमन्त्रीसँग रहेको गृह मन्त्रालय माओवादीले नै राखेर अर्थ मन्त्रालय कांग्रेसले लिने समझदारी भइसकेको बताइन्छ ।

तर अर्थ मन्त्रालयमा नेकपा एकीकृत समाजवादीले पनि नजर लगाएको छ । सरकारमा जाने निर्णय गरिसकेको एकीकृत समाजवादीले अर्थसहित भौतिक योजना मन्त्रालय दावी गर्ने तयारी गरेको अध्यक्ष माधवकुमार नेपाल निकट स्रोतले जनाएको छ ।

यसअघि एमालेले पाएका मन्त्रालय कांग्रेसले पाउने मोटामोटी सहमति भएको छ । जसपा र नेकपा एसले तीन तीनवटा मन्त्रालय दाबी गरेका छन् । यसअघि जसपाले २ मन्त्रालय अस्वीकार गेरर सरकारमा गएको थिएन । प्रतिनिधिसभामा जसपाको १२ र नेकपा एसको १० सीट छ ।

यसअघि भन्दा माओवादीले कम्तिमा एउटा मन्त्रालय बढी पाउने निश्चित भएको छ भने कांग्रेसले एमालेले पाएको नघट्ने र थप एक मन्त्रालय पाउने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

जसपालाई ३ मन्त्रालय र नेकपा एसलाई २ मन्त्रीसहित एक राज्यमन्त्री दिने सम्भावना छ । नागरिक उन्मुक्ति पनि एक मन्त्रीसहित सरकारमा जाने तयारी छ । राष्ट्रिय जनमोर्चा सरकारमा जाने वा नजाने निर्णय भएको छैन । लोकतान्त्रिक समाजवादी पार्टीले एउटा मन्त्री पाउने निश्चित छ । यद्यपि उसले २ वटा मन्त्रालय मागेको छ ।

पहिलो चरण को प्रधानमन्त्री बन्ने भन्ने कुरा नमिल्दा चुनावका बेलाको पाँचदलीय गठबन्धन टुटेको थियो। पहिलो कार्यकाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने अडानमा बसेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल बालकोट पुगेर गत पुस १० गते एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए।

तर गत पुस २६ मा प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिएपछि नयाँ परिस्थिति बनेको थियो। कांग्रेसले विश्वासको मत दिएर ढोक्सा थाप्न खोजेको र त्यसमा माछा नपर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएका थिए। तर प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेसका नेताहरूले प्रधानमन्‍त्री दाहालसँग भेटवार्तालाई बाक्लो बनाए र राष्ट्रपतिमा माओवादीको समर्थन लिएका थिए। दाहालले पनि राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गरिनुपर्ने बताइरहेका थिए।

तर एमालेलाई राष्ट्रपतिमा सहयोग गर्ने पुस १० को सहमति प्रधानमन्त्री प्रचण्डले तोडेको भन्दै एमालेले सोमबार सरकार छाडेको छ। अब प्रधानमन्त्री प्रचण्डले चुनावका बेलाको पाँच दल र नयाँ थपिएका साना दल समेटेर ८ दल सामेल हुने गरी मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

गत शुक्रबार ८ दलबीच छलफल हुँदा शक्ति बाँडफाँटमा समेत सहमति भएको थियो। प्रचण्ड साढे २ वर्ष प्रधानमन्त्री हुने, त्यसपछि माधवकुमार नेपाल १ वर्ष प्रधानमन्त्री हुने र त्यसपछि चुनाव गराउने गरी अन्तिममा डेढ वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति बनेको थियो।

प्रतिक्रिया दिनुहोस