Latest News

सन्दीप लामिछाने प्रकरण: किशोरीको अर्को जन्मदर्ता पनि भेटियो

Nepalese Times October 11, 2022 (1 Year ago)    784 Views

काठमाडौं । नाबालिकमाथि बलात्कार अभियोगमा पक्राउ परेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले सात दिनका लागि म्याद थप गरेको छ ।

१७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध बलात्कार अभियोगमा गत २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । लामिछाने त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्नका लागि बाहिर गएका थिए । प्रहरीमा उजुरी परेसँगै लामिछानेलाई पक्राउ गर्नका लागि अदालतसँग अनुमति लिएको थियो । तर, लामो समयसम्म लामिछाने नफर्किएपछि प्रहरीले इन्टरपोल मार्फत पक्राउ गरेर नेपाल ल्याउने तयारी गरिरहेका बेला दसैंको टीकाको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोप ति किशोरीले लगाएकी छिन् । २० असोजमा पक्राउ परेका लामिछानेलाई सोमबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगिएको थियो । अदालतमा उपस्थित भएका उनले आफू निर्दोष भएको बताएका छन् । न्यायाधीश समक्ष सन्दिपले आफूले जाहेरवालाकै आग्रहमा भेटेको बताएका छन् ।

सन्दीपले बयानमा आफ्नो चरित्रहत्या भएको र गोपनियता कायम नराखेको भन्दै न्यायाधीश दण्डपाणि नेउपानेसमक्ष गुनासो गरेका थिए । तर, न्यायाधीशले यो विषय र त्यो विषय फरक भएको भन्दै अहिले यो विषय मात्र कुरा गर्न र गोपनियताको विषय अर्कै भएको बताएका थिए ।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने ‘इजालास समक्ष सन्दीप लामिछानेले आफू निर्दोष रहेको सम्पूर्ण विवरण प्रस्तुत गर्नु भयो ।’ उनले जाहेरीवालीले १९ वर्षको भएको बताएको सन्दीपले अदालतमा राखेको जानकारी दिए । अधिवक्ता सुधा रिजालले किशोरीको दुईवटा जन्मदर्ता भेटिएको भन्दै सन्दीपलाई फसाउने प्रयास देखिएको बताइन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस