Latest News

३२ वटै वडाका लागि मेयर बालेनले ल्याए गज्जबको योजना, नगर प्रहरीको भत्तासमेत तोकियो

Nepalese Times August 28, 2022 (1 Year ago)    324 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन्।आइतबारको नगर कार्यपालिका बैठकमा मेयर साहले सबै वडामा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव अघि सारेका हुन्।

त्यस्तै फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई ५ सय भत्ता दिने निर्णय गरेको छ। महानगरले हाजिर भएको दिन र काममा खटिएको दिन पाँच सय भत्ता उपलब्ध गराउने भएको हो। सडक फुटपाथमा नगर प्रहरी खटाएबापत यसअघि महानगरले ३ सय भत्ता उपलब्ध गराउँदै आएको थियो। महानगरले काठमाडौंका ३२ वटै वडामा चिकित्सक राख्ने भएको छ।

यस्तै काठमाडौं महानगरपालिकाले न्युरोडस्थित भूगोलपार्क क्षेत्रमा एक लाइन पार्किङको व्यवस्था गरेको छ। सवारीसाधनको चाप बढेपछि पार्किङलाई थप व्यवस्थित बनाउन महानगरले शुक्रबारदेखि एक लाइन पार्किङको व्यवस्था लागु गरेको हो।

पहिलेदेखि नै एक लाइन पार्किङको व्यवस्था भएपनि मापदण्ड विपरित पार्किङ हुँदै आएको थियो। त्यसैले यसलाई कडाइका साथ लागु गरिएको महानगर प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

बिहीबार नै महानगरबाट एक लाइन पार्किङ गर्न आदेश आएको पार्किङमा कार्यरत कर्मचारीले बताए। शुक्रबार नै आदेश आएता पनि पार्किङ गरेको स्थल भरिसकेको हुँदा व्यस्थापन गर्न कठिन भएको कारण शुक्रबारदेखि लागु गरिएको उनले बताए।

महानगरले भूगोलपार्क क्षेत्र, धर्मपथ क्षेत्र र पिपल्स प्लाजा क्षेत्रमा एक लाइन पार्किङ कडाइसाथ लागु गरेको छ। यस्तै पार्किङ स्थलमा दुई लाइन पार्किङ गरे कर्मचारी र सवारीधनी दुवैलाई महानगरले कारबाही गर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस