Latest News

रोकिएन मेयर बालेनको एक्सन, महानगरले अर्को ठाउँको अनधिकृत संरचना पनि भत्कायो

Nepalese Times August 28, 2022 (1 Year ago)    386 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नपार्कस्थित सव–वे मा बनेको अनधिकृत संरचना भत्काएको छ। सव–वे जाने बाटोमा बनाइएका अनधिकृत संरचना भत्काउन थालिएको काठमाडौं महानगरपालिकाका एक नगर प्रहरीले जानकारी दिए।

उनका अनुसार त्यहाँ केही संरचनाहरू अनधिकृत रूपमा बनाइएका छन्। अहिले नगर प्रहरी टोलीले तीन वटा सटरहरू भत्काउँदै छन्। ‘बाहिरका संरचना भत्काइएका हुन्,’ एक नगर प्रहरीले भने, ‘फुटपाथमा स(सना सटरहरू बनाइएका थिए। ती संरचना अहिले केही भत्काएर छोडेका छौं।’

केही व्यवसायी अहिले ‘छोडिदिन हामी आफैं खाली गर्छौ,’ भनेपछि छोडेका उनले बताए। बेलुकीसम्म उनीहरूले खाली गरी भत्काएर फुटपाथ सफा गरिदिनुपर्ने उनले बताए।

यस्तै सववेमा पहिले नै भएका सात वटा सटरहरू भने महानगरले भत्काउने छैन। ‘जुन संरचनाहरू नक्सा पास नगरी बनाइएका छन्, उनले भने, ‘ती सबै भत्काइने छ। अरू केही पनि गर्दैनौं।’

यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मिचाहा वर्गलाई कानुन मिचिरहन र मोटाइरहन नदिइने बताएका छन् । आज आइतबार एक विज्ञप्ती निकालेर मेयर शाहले आफूहरुले गरिरहेको काम पूर्ण कानुन अनुसार भइरहेको बताउँदै नेपालको संविधान र कानूनले काठमाडौं महानगरपालिकालाई कानून बनाउने व्यवस्थापिकीय अधिकार, कानून कार्यान्वयन गर्ने कार्यकारिणी अधिकार तथा विवाद निरुपण गर्ने न्यायिक अधिकार सुम्पिएको स्मरण पनि गराएका छन् ।

अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण सम्बन्धमा कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको कानूनी आधार स्वतः शून्य हुने मेयर शाहको भनाइ छ ।

उनले भनेका छन,” अब मिचाहा बर्गलाई कानून मिची रहन र अझ मोटाई रहन दिने छैनौं । आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।”

प्रतिक्रिया दिनुहोस