Latest News

ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

Nepalese Times August 28, 2022 (1 Year ago)    319 Views

काठमाडौँ- एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय पनि गठन गरेको छ । कमिटीको सचिवमा विष्णु रिमाल चयन भएका छन् ।

एमालेले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । शनिबार सम्पन्न एमाले केन्द्रीय समिति बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो । साथै, उसले २२ भदौसम्म प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारका लागि नाम सिफारिस गरिसक्न निर्देशन दिएको छ ।

यस्तै नेकपा एमालेले प्रतिनिधिसभामा २०७४ सालको निर्वाचनमा ४१ जना सांसद निर्वाचित गराउन सफल भएकोमा पार्टी विभाजनका बेला ११ जना सांसद नेकपा एसमा लागे । बाँकी रहेका ३०जनामध्ये धेरैजसो सोही कोटाबाट समानुपातिक सांसदमा दोहोरिने सम्भावना छैन ।

केन्द्रीय कमिटीको शनिवार सम्पन्न बैठकले समानुपातिकमा एकपटक अवसर पाइसकेकालाई आमरुपमा फेरि नदोहोर्याउने नीति अघि सारेपछि केही नेताहरुका लागि प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्नुपर्ने बाध्यता खडा भएको छ ।

समानुपातिकमा एकपटक वा त्योभन्दा बढीपटक मौका पाएका केही नेता अब प्रत्यक्ष चुनाव लड्न तयारीमा लागेका छन् । हाल समानुपातिकमा रहेका सबैभन्दा सिनियर नेता डा.बिजय सुब्बादेखि सबैभन्दा जुनियनर नविना लामासम्मले प्रत्यक्ष उम्मेदवार बन्ने चाहना राखेका छन् ।

एमालेको निर्वाचन आयोगका अध्यक्ष समेत रहेका सुब्बाले पार्टीले जिम्मा दिए चुनाव लड्न तयार रहेको बताए । उनी तेह्रथुमबाट प्रतिनिधित्व गर्छन् । २०४८ सालमा जितेका सुब्बाले २०५१ मा टिकट पाएनन् ।

पार्टी विभाजनका बेला एमालेले उनलाई २०५६ मा टिकट दिएर पठायो,उनी जितेर फर्किए । २०६४ मा उनले टिकट पाएनन् । २०७० मा उनी अशोक राईसँगै पार्टी छाडेर हिँडेकाले छुटे । २०७४ मा उनले टिकट लिएनन् र समानुपातिकमा जनजातिबाट पहिलो नम्बरमा परेकाले सांसद बन्ने मौका पाए ।

यसपटक पनि पार्टी विभाजन भएकाले पार्टीले जिम्मा दिए आफू उम्मेदवार बन्न तयार रहेको नेपाल प्रेसलाई बताए । बिजय सुब्बाजस्तै अन्य समानुपातिक सांसदहरु पनि प्रत्यक्ष चुनावी मैदानमा भिड्ने तयारीमा रहेका छन् ।

बिजय सुब्बाकै बहिनी,नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व उपसभामुख डा.शिवमाया तम्बाहाङ्फे पनि प्रत्यक्ष चुनाव लड्ने मनस्थितिमा छन् । पार्टीले टिकट दिएमा र कार्यकर्ताले आग्रहमा गरेमा उनी पनि मोरङ १ बाट टिकटको दाबेदार हुन् । यद्यपी यहाँ वहालवाला सांसद घनश्याम खतिवडा कार्यकर्ता र जनतामा स्थापित छन् ।

एमालेकै समानुपातिक सांसद जुलिकुमारी महतो पनि प्रत्यक्ष चुनावको तयारीमा छन् । दुईपटक समानुपातिक कोटाबाट सांसद र सभासद भइसकेकी महतो २०७० मा प्रत्यक्ष चुनाव लडेर कांग्रेसका विमलेन्द्र निधीसँग झिनो मतले पराजित भएकी थिइन् । उनको निर्वाचन क्षेत्र धनुषा ३ हो ।

अनेरास्ववियुकी पूर्व अध्यक्ष नविना लामा पहिलोपटक २०७४ मा समानुपातिक कोटाबाट सांसद भइन् । स्वतन्त्र विद्यार्थी युनियनदेखि अन्य सबै चुनाव प्रत्यक्ष लडेर जितेकी नविना प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्न चाहान्छिन् । अघिल्लोपटक वाम गठबन्धनका कारण काभ्रेपलाञ्चोक १ माओवादीको भागमा परेकाले उनी उम्मेदवार बन्न पाइनन् ।

यसपटक नविना प्रत्यक्ष उम्मेदवार बन्ने तयारीमा छन् । पार्टीले जिम्मेवारी दिए आफू चुनावी मैदानमा गबठन्धनसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताइरहेकी छन् ।

त्यस्तै स्थायी कमिटी सदस्य बिन्दा पाण्डे पनि प्रत्यक्ष चुनाव लड्ने सम्भावना भएकी नेता हुन् । यद्यपी उनले आफू चुनाव लड्ने वा नलड्नेबारे सार्वजनिक रुपमा केही भनेकी छैनन् । उनी काठमाडौं क्षेत्र नम्बर २ को सम्भावित एमाले उम्मेदवार हुन् ।

एमाले संसदीय दलको सचेतक तथा पोलिटव्युरो सदस्य शान्ता चौधरी दोस्रोपटक प्रत्यक्षतर्फको उम्मेदवार बन्दैछिन् । २०६४ सालमा समानुपातिक र २०७० मा प्रत्यक्षतर्फ उम्मेदवार बनेकी चौधरी यसपटक दाङ क्षेत्र नम्बर १ बाट एमालेको सम्भावित उम्मेदवार हुन् ।

त्यस्तै पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद रहेका मोहन बानिया पनि मुगुबाट प्रत्यक्ष उम्मेदवार हुने सम्भावना छ । उनी २०७० मा प्रत्यक्षबाटै संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

एमाले पोलिटव्युरो सदस्य तथा संसदीय समितिको सभापति रहेकी निरु पाल पनि दोस्रोपटक प्रत्यक्ष निर्वाचनको तयारीमा छन् । उनी २०६४ पछि शेरवहादुर देउवाले छाडेको क्षेत्रमा भएको उपचुनावमा उम्मेदवार बने पनि जित्न सफल भएकी थिइनन् । यसपटक उनी कञ्चनपुर ३ बाट सम्भावित उम्मेवार हुन् ।

प्रतिक्रिया दिनुहोस