Latest News

गगन थापासँग चुनाव लड्न एकीकृत समाजवादीले सिफारिस गर्यो ५ जनाको नाम, को–को परे ?

Nepalese Times August 28, 2022 (1 Year ago)    270 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादी, काठमाडौँ निर्वाचन क्षेत्र नं ४ समन्वय कमिटीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि पाँच जनाको नाम सिफारिस गरेको छ।

कमिटीको शनिबार बसेको बैठकले काठमाडौँ जिल्ला कमिटीका कार्यवाहक सचिव ध्रुवराज न्यौपाने, केन्द्रीय सदस्य रञ्जना मास्के, सीता ओझा र सीता श्रेष्ठ तथा बौद्धिक व्यक्तित्व ठाकुर खकुरेललाई प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि जिल्ला कमिटीलाई उम्मेदवारी सिफारिस गरेको हो।

जिल्लाले प्रदेश कमिटीलाई भदौ १२ र प्रदेशले केन्द्रलाई १५ गतेभित्र सिफारिस गरी केन्द्रले २० गते उम्मेदवारी टुङ्गो लगाउने कार्यतालिका छ।

सत्तारूढ दलबीच निर्वाचनमा गठबन्धन गर्ने सहमति भए पनि पार्टीको आन्तरिक तयारी स्वरूप प्रजातान्त्रिक ढङ्गले ती नाम सिफारिस गरिएको निर्वाचन क्षेत्रीय कमिटीका संयोजकसमेत रहेका न्यौपानेले जानकारी दिए।

बैठकले पार्टीप्रतिको निष्ठा, अनुशासन र सङ्गठन क्षमताका आधारमा ती नाम सिफारिस गरेको हो। पार्टीले कम्तीमा एक महिलासहित चार जनाको नाम सिफारिस गर्न भने पनि बैठकले पाँच जना नै योग्य देखिएको भनी ती नाम पठाएको बताइएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ–४ अन्तर्गत काठमाडौँ महानगरपालिकाका १, ७, ८ र ३० तथा बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडा पर्छन्। यो कांग्रेस महामन्त्री गगन थापाको क्षेत्र पनि हो।

यसैबीच बूढानीलकण्ठ–१०, कपनस्थित कपन बहुमुखी क्याम्पसको साधारणसभा यही भदौ १८ गते बस्ने भएको छ। सभाले क्याम्पस सञ्चालनका लागि अध्यक्षसहित १९ सदस्यीय कार्यसमिति निर्वाचन गर्ने छ। रासस

प्रतिक्रिया दिनुहोस