Latest News

शेखर कोइरालाको यस्तो अडानले प्रचण्ड र माधव नेपाललाई आपत !

Nepalese Times August 27, 2022 (1 Year ago)    238 Views

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन गर्न नसक्ने बताएका छन् ।

अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि उनले सिट संख्या १०० बाट घटाउन नसकिने बताएका हुन् ।कोइरालाले भने, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। तर परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानु परेको हो ।’

नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ ले सुन्दरहरैंचामा गरेको १ दिने प्रशिक्षण कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे । पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँट गर्नुपर्ने नेता कोइरालाको भनाइ छ ।

यसअघि शुक्रबार बसेको सत्ता गठबन्धनका चार दलको बैठकले प्रतिनिधि सभामा दाबी गरेको सिट घटाउने निर्णय गरेका छन्। शुक्रबार बेलुका बसेको कार्यदलको बैठकमा आफ्नो दाबी छोड्न तयार रहेको उनीहरुले बताएका हुन्।

बिहीबार बसेको कार्यदलको बैठकमा कांग्रेसले सय, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी (जसपा)ले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेका थिए।

प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँटका लागि बनेको कार्यदलका सदस्यले सो दाबी छोड्न तयार भएका हुन्। ‘कार्यदलमा प्रस्तुत भएका ३० प्रतिशत भन्दा बढी दाबी घटाउन चारै दल सहमत हुनुभएको छ,’ कार्यदलका एक सदस्यले भने, ‘त्यसका लागि पार्टीमा छलफल गर्ने बताउनुभएको छ।’

शुक्रबारको बैठकमा प्रदेश सभाका ३ सय ३० क्षेत्रको पनि बाँडफाँटका विषयमा सल्लाह भएको छ। ‘हाम्रो बैठकमा संघ र प्रदेशको सिट बाँडफाँट सहमतिमै गर्ने समझदारी भएको छ, कुरा सकारात्मक छ,’ ती सदस्यले भने ।

नेताहरुका अनुसार ९ भदौको बैठकमा सिटको दाबी गरेको कांग्रेस आफ्नो दाबीमा लचक हुन तयार रहेको बताएको थियो। यस्तै माओवादीले पनि सहमति गर्ने कुरामा तयार रहेको बताएको थियो। ‘हाम्रो पार्टीभित्र छलफल गर्छौ भन्नुभएको छ, सायद अबको बैठकमा उहाँहरुले अन्तिम दाबी प्रस्तुत गर्नुहुन्छ होला, संघमा सहमति जुटेपछि प्रदेशको सिट बाँडफाँट गर्छौँ,’ ती सदस्यले थपे।

प्रतिक्रिया दिनुहोस