Latest News

राष्ट्रपति भण्डारीले राजिनामा दिँदै, सुरक्षा अधिकारीहरुलाई बोलाइन् शितल निवास

Nepalese Times August 24, 2022 (1 Year ago)    524 Views

काठमाडौं –

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका पूर्व तथा वर्तमान सुरक्षा अधिकारीहरुलाई शितलनिवासमा भेटका लागि बोलाएकी छन् ।

बुधबार शितलनिवासमा नेपाली सेनासहित सुरक्षा निकायका अधिकारीहरुलाई बोलाएर उनले भेट गरेकी हुन् । भेटमा के–के कुराकानी भयो भन्ने विस्तृत विवरण आएको छैन । यद्यपि, सुरक्षा सम्बद्ध स्रोतले भण्डारीले सुरक्षाकर्मीहरुलाई ‘धन्यवाद दिएको’ बतायो ।

भेटमा शितलनिवासका वर्तमान सुरक्षा प्रमुख नेपाली सेनाका सहायक रथी पवन घिमिरेसहितका उच्च सैन्य अधिकारीहरु पनि सहभागी थिए । नेपाली सेनाको परमाधिपति समेत रहने राष्ट्रपतिको सुरक्षा व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्छ ।

राष्ट्रिय अनुसन्धानमा विभागको एउटा टोली पनि राष्ट्रपति कार्यालयमा खटिन्छ भने बाहिरी सुरक्षामा नेपाल प्रहरीले एकजना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सुरक्षामा टोली खटाउने गर्छ ।

राष्ट्रपति भण्डारी संसदबाट नागरिकता विधेयक जस्ताको तस्तै फर्काइएपछि असन्तुष्ट छन् । पछिल्लो समय उनले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर भेटघाट गरिरहेकी छन् । संविधानविद्हरुसँगको छलफलमा पनि उनले नागरिकता विधेयक जस्ताको तस्तै आएकोप्रति चिन्ता व्यक्ति गरेकी थिइन् ।

उनले आफूले देशका लागि राम्रो गर्न खोज्दा खोज्दै पनि सफल हुन नसेको भन्दै पद नै त्याग्नेसम्मको सोच आउने गरेको सहभागीहरुसँग बताएकी थिइन् ।

वैवाहिक अंगिकृतको व्यवस्थाबारे पुनर्विचार गर्न भन्दै सरकारले प्रमाणिकरणका लागि पठाएको नागरिकता विधयेक भण्डारीले संसदमा फिर्ता पठाइदिएकी थिइन् । तर प्रतिनिधिसभाबाट फेरि सोही विधयेक हुबहु पारित भइसकेको छ । र, राष्ट्रियसभामा पेश हुने क्रममा छ ।

नागरिकता विधेयकमा अडान लिएर राष्ट्रपतिले केही महिना कार्यकाल बाँकी छँदै राजीनामा दिने तयारी थालेकी छन्। यदि उनले राजिनामा दिइन् भने त्यो नेपाली राजनीतिमा नयाँ दृष्टान्त हुनेछ । राष्ट्रवादको एउटा मिसालका रूपमा यसलाई विश्लेषण गरिनेछ ।

राष्ट्रपतिबाट हटेपछि भण्डारी कुनै पनि सरकारी सेवा-सुविधाको उपभोग नगर्ने मनस्थितिमा छिन् । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जस्तो सरकारी आवासको खोजी नगरी उनी बूढानीलकण्ठ नगरपालिका चपलीमा रहेको आफ्नै घरमा बस्नेछिन् । सरकारी सेवा-सुविधा त्याग्दा जनतामा उनीप्रति थप सकारात्मक छाप बस्नेछ ।

बुढानिलकण्ठमा रहेको आफ्नो निजी निवास तत्काल सरसफाइ र रंगरोगन गर्न निर्देशन दिनुले उनी बहिर्गमनको मनस्थितिमा रहेको संकेत अवश्य मिल्छ ।

नागरिकता विधेयकको प्रमाणीकरण रोकेर राजीनामा दिएको खण्डमा जनतामा उनको साख बढ्ने विश्लेषकहरू बताउँछन् । त्यसले उनको आगामी राजनीतिक भविष्यलाई उजिल्याउने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस