Latest News

मधेस प्रदेशका मुख्यमन्त्री राउतले राजीनामा दिने, को बन्ने भए नयाँ मुख्यमन्त्री ?

Nepalese Times August 23, 2022 (1 Year ago)    603 Views

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पदबाट राजीनामा दिने भएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव को निर्देशनपछि उनले पदबाट राजीनामा दिने तयारी गरेका हुन् ।

आजै वा भोलिसम्म राजीनामा दिने तयारीमा मुख्यमन्त्री राउत रहेको एक बहालवाला मन्त्रीले जानकारी दिएका छन् ।

तत्कालीन संघीय समाजवादी फोरमबाट पर्सा क्षेत्र नम्बर १ ख मा निर्वाचित भएका राउत २ फागुन २०७४ मा मुख्यमन्त्री बनेका थिए।

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालको समर्थनमा मुख्यमन्त्री बनेका उनी पछिल्लो एक वर्षदेखि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समर्थनमा मधेस सरकारको नेतृत्व गरिरहेका छन्।

मुख्यमन्त्री राउतको राजीनामा गराएर अर्थमन्त्री शैलेन्द्र साहलाई मुख्यमन्त्री बनाउने तयारी उपेन्द्र यादवले गरेको बुझिएको छ।

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘बेटी पढाऊ, बेटी बचाऊ’ अन्तर्गत छोरीलाई वितरण गरिएको साइकल खरिदमा भ्रष्टाचार भएको ठहरपछि उनको पार्टी नेतृत्व मुख्यमन्त्री राउतबाट चिढिएको हो।

दोस्रो चरणमा गरिएको कुनै ब्रान्ड नभएको १७ हजारवटा साइकल खरिदमा १० करोड ३३ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मुख्यमन्त्री कार्यालयका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, उपसचिव दिलीपकुमार प्रधान, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, अधिकृत आठौँ तहका सुरेन्द्रकुमार कर्ण, सहलेखापाल राजाराम मण्डल, भण्डार शाखा प्रमुख स्वार्थ महतो, भण्डार शाखाका खरिदार मोहनकुमार दास र ओम सत्य साई प्रालिका प्रबन्ध निर्देशक रेनु अग्रवालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो।

दोस्रो चरणमा भएको १७ हजार साइकल खरिदमा मुख्यमन्त्री राउत र प्रमुख सचिवको संलग्नता नपाइएको भन्दै अख्तियारले उन्मुक्ति दिए पनि मुख्यमन्त्री राउत नैतिक संकटमा परेका छन्। उनको चौतर्फी चर्को आलोचनासँगै राजीनामाको माग उठिरहेको थियो।

अख्तियारले पहिलो चरणमा भएको १० हजार साइकल खरिद प्रक्रणको पनि अनुसन्धान थालेको छ। खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै कुनै कागजातमा समेत आफूले हस्ताक्षर नगरेको तर्क गरेर अख्तियारको दण्डबाट उम्केका मुख्यमन्त्री राउत पहिलो चरणमा दुईपटक गरी १४ हजार भएको साइकल खरिद प्रक्रियामा भने संलग्न छन्।

त्यसैले अख्तियारले पहिलो चरणमा भएको १४ हजार साइकल खरिदको अनुसन्धान गर्न सोझिएको छ। अख्तियराले गत साउन २० गते मुख्यमन्त्री कार्यालयलाई पत्र लेखेर कागजात माग गरेपछि १४ हजार साइकल खरिदको फाइल नै गायब भएको छ। फाइल कार्यालयमा फेला नपरेको र अख्तियारलई पठाउन खोजबिन भइरहेको मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव कृष्णबहादुर राउतले स्वीकार गरेका छन्।
सो फाइल मुख्यमन्त्री लालबाबु राउत फस्ने डरले सो फाइल गायब गरेको कार्यालय स्रोतको दाबी छ। मुख्यमन्त्री स्वच्छता अभियानमा पनि व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियारले अनुसन्धान गरिरहेको छ। स्वच्छता अभियानको ३२ वटा डीपीआर फाइल पनि मुख्यमन्त्री कार्यालयबाट चोरी भइसकेको छ।

यसले मुख्यमन्त्री लालबाबु राउत झनै बदनाम भएका छन्। त्यसकारण राउतलाई राजीनामा दिन दबाब बढेको हो।

प्रतिक्रिया दिनुहोस