Latest News

सत्ता गठबन्धनको बैठक सकियो, के–के भयो निर्णय ?

Nepalese Times August 22, 2022 (1 Year ago)    462 Views

काठमाडौं ।

प्रदेश र प्रतिनिधिसभा चुनावमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक आज पनि विना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि विना निष्कर्ष सकिएको छ ।

बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीले बैठकपछि जानकारी दिए । उनले मंगलबार दिउँसो ३ बजे अर्को बैठक बस्ने पनि बताए ।

उनले भने, ‘गठबन्धन बैठक निष्कर्ष नजिक पुगेको छ । बैठक जारी छ, भोली ३ बजे बस्नेछ ।’ बैठकमा सिट बाँडफाँट र त्यसपछिको अवस्थामा केन्द्रीत रहेर छलफल भएको मन्त्री कार्कीले बताए ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्काल पार्टी एकता नगरेपनि घोषणापत्र एउटै बनाउने सहमति गरिसकेका छन् । उनीहरुबीच चुनाव चिन्ह पनि एउटै बनाएर जाने भद्र सहमति भएको बुझिएको छ ।

नेपाली काँग्रेससँग सिट बाँडफाँटको टुंगो नलागेसम्म प्रचण्ड र माधव नेपालले पार्टी एकता वा एउटै चुनाव चिन्हको घोषणा गर्ने छैनन् । यसको कारण हो सिट बाँडफाँटमा काँग्रेसले दुई दललाई घटाइदिने सम्भावना ।

सिट बाँडफाँटको टुंगो लाग्ने वित्तिकै प्रचण्ड र माधव नेपालले चुनाव चिन्हमा पनि टुंगो लगाउने गरी रणनीति बनाएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार कलम चिन्हमा माओवादी र एसका उम्मेदवारहरु चुनाव लड्ने सम्भावना देखिएको छ ।

गठबन्धनमा माओवादीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५० र एसले ३० सिटको दाबी गरिरहेको छ । माओवादी ४५ र एस २५ सिटमा सहमति गरेर चुनावमा जाने रणनीतिका साथ प्रस्तुत भएका छन् ।

प्रतिक्रिया दिनुहोस