Latest News

भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा, यस्तो छ आरोप

Nepalese Times August 11, 2022 (1 Year ago)    350 Views

काठमाडौं –

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका अन्य उम्मेदवारले केसीलाई नियुक्त गर्ने ९ साउनको मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै रिट दिएका हुन् ।

विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उत्तीर्ण हुनुपर्ने भए पनि केसीले प्रमाणपत्र तह मात्र उत्तीर्ण गरेकाले भन्दै नियुक्ति बदरको माग गरेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रिट दर्ता भएको र सोमबार प्रारम्भिक सुनुवाइ हुने जानकारी दिए ।

गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । केसी केही अगाडि मात्र नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।

उमेर र योग्यता बाधक बन्न सक्ने भन्दै चलचित्र वृत्तमा भुवनको आवेदन अस्वीकृत हुनसक्ने अनुमान गरिएको थियो । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा १० उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।

सुनसरीका अरुणकुमार प्रधान, काठमाडौंका दीपक श्रेष्ठ, ललितपुरका नरेशकुमार पौड्याल, काठमाडौंका निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की उम्मेदवारको रुपमा प्रतिस्पर्धामा रहेका थिए ।

भुवन केसी स्थानीय तह निर्वाचन अगाडि मात्रै कांग्रेसमा प्रवेश गरेका हुन्। भुवन यसअघि एमालेमा थिए। एमालेमा प्रवेश गर्दा उनको नाम बोर्डको अध्यक्षको रूपमा आएको थियो। उनले आवेदन समेत दिएका थिए। तर एमाले निकट अर्का निर्देशक दयाराम दाहाल अध्यक्षमा नियुक्त भएका थिए।

उनलाई निर शाहलगायतकाको साथ देखिन्छ। स्थानीय तह निर्वाचन अगाडि कलाकारको हुलसहित कांग्रेस प्रवेशको सर्त बोर्डको अध्यक्षको वचन रहेको चर्चा चलेको थियो। केसीले यो केवल चर्चा मात्रै नभएको पुष्टि गर्दै जिम्मेवारी आए आफू तयार रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस