Latest News

मेयर बालेन साहले अब माछा र हाँस पनि पाल्ने, कति छ बजेट ?

Nepalese Times July 27, 2022 (1 Year ago)    356 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरीमा माछा र हाँस पाल्ने भएको छ ।

माछाको भुरा र हाँस खरिद गर्न महानगरले आर्थिक वर्ष २०७९र८० को बजेटमा ५ लाख रुपैयाँ बजेट छुट्याएको छ । यो बजेटबाट माछा र हाँसका लागि आहारा पनि खरिद गर्नुपर्ने छ ।

यस्तै रानीपोखरी योजनाको विस्तृत परियोजना प्रतिवेदनका लागि पनि बजेट छुट्याइएको छ । जसका लागि महानगरले २५ लाख रुपैयाँ छुटट्याएको छ । ८ पुस, २०७८मा ततकालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको स्वामित्व काठमाडौं महानगरपालिकाकामा हस्तान्तरण गरेको थियो ।

प्राधिकरणको अगुवाइमा पुनर्निर्मित रानीपोखरी आफ्नै कार्यकालमा महानगरको स्वामित्वमा फर्किएपनि शहरी विकास तथा भवन निर्माण विभागले केही बाँकी काम अझै गरिरहेको छ ।

१२ वैशाख २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको रानीपोखरी पुनर्निर्माणको २ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन् भने पुनर्निर्माणको जिम्मा सुरूमा महानगरले पाएको थियो । तर आफूखुशी कंक्रिट संरचना बनाउन खोजेपछि प्राधिकरणले बनाएर हस्तान्तरण गरेको हो ।

यस्तै काठमाडौं महानगरपालिकाले यो वर्ष पनि नेपाली कांग्रेस र नेकपा एमालेका नेताका नामका संघ संगठनहरुलाई ठूलो अनुदान रकम उपलब्ध गराउने भएको छ । यो वर्ष महानगरपालिकाले करिब ४ करोड रुपैयाँ यस्ता नेताका नाममा खुलेका फाउन्डेसन, ट्रस्ट, प्रतिष्ठानसहितका संघसंस्थालाई अनुदान दिन लागेको हो ।

यस्ता संस्था सम्बन्धित दलका नेता र कार्यकर्ताहरुले चलाइरहेका छन् । महानगरपालिकाले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट तथा कार्यक्रममा यसरी दिन लागिएको अनुदान सुविधाबारे उल्लेख छ ।

कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको नाममा रहेको ‘गणेशमान सिंह फाउन्डेसन’लाई प्रयोजन नखुलाई ५० लाख अनुदान दिने गरी बजेट पास भएको छ । यो फाउन्डेसनको भवनमा फर्निचर राख्न थप ५० लाख बजेट महानगरले नै दिएको छ ।

त्यसैगरी महानगरपालिकाले एमाले नेता मदन भण्डारीको नाममा खुलेको ‘मदन भण्डारी स्पोर्टस् एकेडेमी’लाई ५० लाख बजेट अनुदान विनियोजन भएको छ । एमाले नेता पुष्पलालको नाममा खुलेको ‘पुष्पलाल स्मृति केन्द्र’लाई ५० लाख अनुदान दिइँदैछ ।

त्यसैगरी महानगरपालिकाले कांग्रेस नेता वीपी कोइरालाको नाममा खुलेको ‘जननेता वीपी कोइराला स्मृति ट्रष्ट’लाई २ करोड अनुदान उपलब्ध गराउँदैछ । संघीय सरकारले सशर्त पठाएको यो अनुदान रकम महानगरले नै ट्रस्टलाई उपलब्ध गराउनेछ ।

कांग्रेस नेतृको नाममा रहेको ‘मंगलादेवी प्रतिष्ठान’को तजबिजीमा खर्च गर्ने गरी ५० लाखको एक सीप प्रवर्द्धन कार्यक्रमका लागि पनि महानगरले बजेट दिएको महानगरका एक अधिकारीले जानकारी दिए । यसअघिका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले पनि भागबन्डाकै शैलीमा आफ्नो दलसम्वद्ध संघ संस्थालाई अनुदान बाँडेका थिए ।

मदन भण्डारी फाउन्डेसनलाई महानगरले २०७४ यताका ४ वर्षमा ५ करोड ३५ लाख अनुदान दिएको थियो, महानगरले फाउण्डेसन अन्तर्गतकै मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई गत आर्थिक वर्षमा मात्र ७० लाख दिएको थियो ।

प्रतिक्रिया दिनुहोस