Latest News

को हुन् जुँगा भएको तस्बिर भाइरल भएकी यी महिला ? के भन्छिन् उनी ?

Nepalese Times July 25, 2022 (1 Year ago)    472 Views

काठमाडौं ।

यतिबेला सामाजिक सञ्जालमा जुँगा भएकी एक महिलाको तस्बिर भाइरल भएको छ। उनको तस्बिर र उनको जुँगालाई लिएर विभिन्न किसिमका ट्रोलहरू समेत बनेको पाइन्छ।

तर, उनलाई आफूमाथि बनाइने ट्रोल र सामाजिक सञ्जालमा आउने कमेन्ट्ले खासै प्रभाव नपार्ने उनको अभिव्यक्ति छ। उनी हुन्, ३५ वर्षीया भारतीय महिला शायजा। सामान्यतया जुँगा पुरुषहरूको मात्र हुनेभएको कारण पनि उनको जुँगा देख्दा प्रायः जसाेले उनीमाथि ट्रोल बनाउने गरेको तर आफूलाई यसले कुनै प्रभाव नपार्ने उनले ह्वाट्सएप स्टेटसमार्फत जानकारी दिएकी छन्।

यसबारे लामो अभिव्यक्ति दिँदै उनी लेख्छिन्,‘मलाई मेरो जुँगा एकदमै मनपर्छ। मलाई विभिन्न सामाजिक सञ्जालमा किन पालेकी भनेर प्रश्न पनि आउँछन्। तर मेरो जवाफ यही हो,‘मलाई मेराे जुँगा मन पर्छ।’

३५ वर्षीया शायजाले आफ्नो ह्वाट्सएप स्टेटसमा आफ्नो तस्बिर मुनी लेखेकी छिन्, ‘मलाई मेरो जुँगा मनपर्छ ।’फेसबुकमा उनका तस्बिरहरू हेर्ने वा उनलाई व्यक्तिगत रूपमा भेट्ने मानिसहरूले उनलाई प्रायजसो एउटै प्रश्न सोध्छन् – किन जुँगा पालेकी ?

‘म यति मात्र भन्न सक्छु कि मलाई यो मन पर्छ,’ उनी भन्छिन् । शायजा केरलाको कन्नूर जिल्लामा बस्छिन् । धेरै महिलाहरू जस्तै, उनको अनुहारमा सिमित मात्रै रौँ थिए । उनले आफ्नो आँखी भौँलाई नियमित रुपमा थ्रेडले मिलाउने गर्थिन् तर उनका अनुसार ओठ माथिको रौँ हटाउन आवश्यक उनले कहिल्यै सोचिनन् ।

करिब पाँच वर्षअघि, यी रौँ बिस्तारै घना हुन थाले र जुँगा देखिन थालेपछि शायजाले यसलाई काट्ने नभई राख्ने निर्णय गरिन् । उनी भन्छिन्, ‘म अब यी बिना बस्न सक्छु होला जस्तो लाग्दैन । कोभिड महामारी सुरु भएपछि मलाई जतिबेला पनि मास्क लगाउन मन पर्दैनथ्यो किनभने यसले मेरो अनुहार ढाक्ने गर्दथ्यो ।’

धेरैले उनलाई जुँगा हटाउन पनि आग्रह गरे तर शायजाले त्यसलाई ठाडै अस्वीकार गरिन् । उनी भन्छिन्, ‘नहुनु पर्ने कुरा मसँग भएकोले मलाई म सुन्दर छैन भन्ने महसुस कहिल्यै भएन ।’

महिलाको अनुहारमा रौँ हुनुहुँदैन भनिन्छ । भइहाले पनि त्यसलाई पैसा खर्च गरेर हटाउ वा कुनै आकार देउ भन्ने गरिन्छ ।हेयर रिमूभर उत्पादनहरूको अर्बौँको व्यापार छ र यसले ती महिलाका लागि क्रिम, वाक्स स्ट्रिप्स, रेजर र एपिलेटर्स बनाउँछ जो आफ्नो आवश्यकताका लागि ती खरिद गर्न सक्षम छन् ।

तर हालैका वर्षहरूमा, धेरै महिलाहरूले यस्तो चलनको ठिक विपरित हिँड्ने निर्णय गरे र आफ्नो अनुहारको रौँ राख्न चाहिरहेका छन् ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार सन् २०१६ मा बडी पोजिटिभिटीकी प्रचारक हरनाम कौर दाह्री पाल्ने विश्वकी सबैभन्दा कम उमेरकी महिला बनिन् ।

थुप्रै अन्तरवार्तामा उनले यसबारे चिन्तित भइराख्दा आफ्नो अनुहारको रौँसँगै आफूलाई कसरी प्रेम गर्न सिकिन्् भन्ने जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस