Latest News

जहाज उडेको १५ मिनेटमै पाइलटको ज्यान गयो, भित्र रहेका सबै यात्रु यसरी बाँच्न सफल भए !

Nepalese Times July 21, 2022 (1 Year ago)    463 Views

काठमाडौं ।

इन्डोनेसियामा बिहीबार यात्रुवाहक जहाजको आकस्मिक अवतरण गरेपछि पाइलटको ज्यान गएको छ ।

एबिसी न्युजका अनुसार सिटिलिंक एयरलाइन्स कम्पनीको एयरबस ए ३२० विमान उडेको १५ मिनेटपछि पाइलटको स्वास्थ्यमा समस्या आएको थियो।

उडान क्रममा चालकको स्वास्थ्यमा समस्या आएको बताएपछि विमान सुराबायाको जुआन्डा अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गर्न अनुमति दिइएको थियो।

जहाजमा भएका सय जना यात्रु सबै सकुशल विमानस्थलमा उत्रेपछि उनीहरूलाई अर्को उडानमार्फत गन्तव्यमा पुर्‍याइएको छ।

उडान क्रममा स्वास्थ्य समस्या देखिएका पाइलट ४८ वर्षीय ब्वाइ अवालिया थिए। उनलाई तत्कालै अस्पताल लगिएको थियो। अस्पताल लगेको केही समयमै उनको निधन भएको हो।

आफ्नो विमानका चालकको निधन भएको सिटिलिंकका कार्यकारी निर्देशक देवा काडेक राईले पुष्टि गरेका छन्।

ुबिहीबार बिहान चालकले विमान आकस्मिक अवतरण गरे। उनलाई तत्काल नजिकैको अस्पतालमा लगियो। तर उपचारका क्रममा उनको निधन भएको छ,ु राईले भनेका छन्।

ती चालकको के कारणले निधन भएको भन्नेबारे अस्पतालले कुनै जानकारी दिइसकेको छैन।

राईका अनुसार बुधबार बिहान ६ बजे उडेको विमानले उडान सुरू गरेको करिब १५ मिनेटपछि आकस्मिक अवतरणका लागि अनुरोध गरेको थियो।

सिटिलिंकले उडानभन्दा अगाडि आफ्ना चालक दलका स्वास्थ्य परीक्षण गरेको बताएको छ। सबैको स्वास्थ्य अवस्था ठीक भएकाले उनीहरू उडानमा भएको पनि कार्यकारी निर्देशक राईले जानकारी दिएका छन्।

एबिसी न्युजका अनुसार सिटिलिंक इन्डोनेसियाको सस्तो यात्रुबाहक जहाज हो। यसले सयभन्दा बढी रूट र ४७ वटा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

एबिसी न्युजका अनुसार सन् २००७ मा इन्डोनेसियाका जहाजलाई सुरक्षा चुनौतीका कारण युरोपमा उडान गर्न प्रतिबन्ध लगाइएको थियो।

समय क्रममा जहाजहरूको प्रतिबन्ध खुला हुँदै गयो। सन् २०१८ मा आइपुग्दा इन्डोनेसियाका जहाजहरूमा लागेको प्रतिबन्ध पूर्ण रूपमा फुकुवा भएको हो।

प्रतिक्रिया दिनुहोस