Latest News

सकियो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, के- के भयो छलफल ?

Nepalese Times July 13, 2022 (1 Year ago)    432 Views

काठमाडौं ।

काठमाडौंमा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने गरि सकिएको छ। प्रवक्ता डा. प्रकाशशरण महतले बुधबारको बैठक सकिएको र भोलि पुनः १ बजे पार्टी कार्यालय सानेपामा बस्ने जानकारी दिए।

‘आजसम्म धेरै साथीहरुले बोलिसक्नुभएको छ। भोलि सम्पन्न हुन्छ होला,’ उनले भने, ‘केही केन्द्रीय सदस्य र पदाधिकारीले बोलिसकेपछि निष्कर्ष निकाल्छौं।’

बुधबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकताका बारेमा धारणा राखेको उनले जानकारी दिए।

‘स्थानीय निकायको अनुभव र त्यहाँको जनाधारलाई मध्यनजर गरेर गठबन्धन अगाडि बढाएर लैजानुपर्छ भन्नेमा धेरै साथीहरुको कुरा रह्यो,’ उनले भने, ‘भातृ शुभेच्छुक संस्थालाई क्रियाशील बनाएर पूर्णता दिनुपर्ने, घर–घर जाउँ कांग्रेस जिताउ अभियान प्रभावकारी भएकाले अबको निर्वाचनमा पनि त्यो अभियानलाई लिएर जानुपर्ने भन्ने कुरा आएको छ।’

बैठकमा पार्टीभित्र कुनै असन्तुष्टि भए सम्बन्धित बैठक लगायतमा गर्नुपर्ने तर बाहिर लैजान नहुने भन्ने धारणा पनि उठेको उनको भनाइ छ।

‘पार्टी सभापति नेतृत्वको एकवर्षको कार्यकाल र त्यसको मोटामोटी टिप्पणी आकंलन लगायतका भएका छन्। मुलतः सभापतिको नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको सबैको धारणा छ,’ उनले भने।

भोलि कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । केन्द्रीय सदस्यहरुले सरकारको कामकारबाहीको विषयमा पनि प्रश्न उठाएपछि बिहीबारको बैठकमा मन्त्रीहरुले पनि जवाफ दिने कार्यक्रम राखिएको नेताहरुले बताएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले केन्द्रीय समिति बैठकमा मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको बताए । बिहीबार नै पदाधिकारीले पनि आफ्नो धारणा राख्नेछन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठक बिहीबार समापन हुने सम्भावना रहेको बताए । सोमबार सुरु भएको बैठकमा डा. शेखर कोइराला पक्षका नेताहरुले सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको आलोचना गरेका थिए।

त्यस्तै संस्थापन पक्षले डा. शेखर कोइराला पक्षले पार्टी नेतृत्वविरुद्ध होटल होटलमा गुटबन्दी गरेको भन्दै प्रतिवाद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस