Latest News

यी अविवाहित मन्त्री भन्छन्, ‘सकेसम्म बिहे नगरौं’

Nepalese Times July 13, 2022 (1 Year ago)    369 Views

काठमाडौं ।

भारतमा एक जना मन्त्रीले सकेसम्म विवाह नगर्न र गरिहाले पनि बच्चा नजन्माउन आग्रह गरेका छन् ।

उनलेती सबै कार्य गर्नुअघि तीन पटक निधार खुम्च्याएर सोच्न आग्रहसमेत गरेका छन् । नागाल्याण्ड राज्यका ४१ वर्षीय युवामन्त्री टेम्जेन इम्ना अलंग त्यस्तै भनाइ र मोटो शरीरका कारण हप्ता दिनयता सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

भारतीय जनता पार्टीका नेता तथा राज्यका उच्च शिक्षा–जनजाति मामिलामन्त्री उनी भद्दा शरीरको तुलनामा ‘साना आँखा’ को कारण चर्चामा आएका थिए ।

सँगसँगै ‘अविवाहित’ अवस्थामै दिएको विभिन्न सन्देशका कारण पनि उनी चर्चित बनेका हुन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्री टेम्जेनका अनेकौं भिडियो बनाएर सेयर गरेका छन् ।

उनका समर्थकहरूले रमाइलो किस्सा सुनाउँदै ‘चिम्सा आँखा’ को फाइदा र विवाहका लागि दुलहीको खोजी भइरहेको बताएका छन् ।

विश्व जनसंख्या दिवसको सन्दर्भ पारेर मन्त्री टेम्जेनले एउटा अर्को रमाइलो ट्वीट गरेका थिए । उनले आफ्ना समर्थकहरूलाई आफूजस्तै अविवाहित रहन अपिल गरेका छन् ।

उनले भने, ‘जनसंख्या वृद्धिको विषयमा सचेत बनौं । सन्तान जन्माउने विषयमा पनि सचेत रहौं ।’ टेम्जेन थप्छन्, ‘आउनुहोस्,आजै एकल आन्दोलनमा सामेल होऔं ।’

यसअघि टेम्जेनको ‘चिम्सा आँखा’ हुनुको फाइदाबारे चर्चा गरिएको एउटा भिडियो पनि भाइरल भएको थियो । उनले भनेका छन् ‘मेरा आँखा साना छन्, तर राम्ररी देख्न सक्छु ।’

बीजेपी कार्यकर्ताले त्यो भिडियो सामाजिक सञ्जालमा व्यापक बनाएपछि जताततै ‘हेडलाइन’ बन्न थालेको हो ।

‘साना आँखा हुनुका धेरै फाइदा छन् । पहिलो फाइदा भनेको फोहोर कम पस्छ । अनि स्टेजमा लामो कार्यक्रम हुँदा केही बेर सुत्छौं । कसैलाई पत्तो हुँदैन– हामी सुतेका हुन्छौं कि जागा हुन्छौं,’ उनको रमाइलो टिप्स हो यो ।

४१ वर्षीय टेम्जेन भारतीय जनता पार्टीको नागाल्याण्ड प्रदेश अध्यक्ष पनि हुन् । सन् २०१८ को विधानसभा चुनावमा अलंग टाकी क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस