Latest News

कांग्रेसबाट उपसभामुखमा चित्रलेखा यादवको चर्चा, को हुन् यादव ?

Nepalese Times July 13, 2022 (1 Year ago)    511 Views

काठमाडौं ।

नेपाली कांग्रेकी नेतृ चित्रलेखा यादवलाई उपसभामुख बनाउने चर्चा सुरु भएको छ ।

सभामुख र उपसभामुख दुईवटा फरक दलको र फरक लिङ्गको हुनुपर्ने प्रावधान छ । त्यसै अनुरुप यादवलाई उपसभामुखको उम्मेदवार बनाउनेबारे छलफल भएको नेपाली कांग्रेसका एक नेताले बताए ।

सभामुख र उपसभामुखमा एउटै पार्टीबाट उम्मेदवारी दिन नमिल्ने संवैधानिक प्रावधान अनुसार काँग्रेसले उपसभामुखमा उम्मेदवारी दिने भएको हो ।

यद्यपि संसदीय दलले ठोस निर्णय भने लिई नसकेको एक नेताले बताए । चित्रलेखा यादवलाई उपसभामुखका रूपमा काँग्रेसले उम्मेदवार बनाउने तयारी अघिल्लो वर्षदेखि नै गरेको हो ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश २ बाट महिलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित चित्रलेखा यादव प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

संसद् बैठक सुरु गर्ने पहिलो महिला हुन् चित्रलेखा यादव । निरंकुश राजतन्त्रविरुद्ध सडकमा बसेको संसद्को मात्र होइन, आन्दोलनपछि पुनर्स्थापित ऐतिहासिक प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता पनि तत्कालीन उपसभामुख यादवले गरेकी थिइन् ।

११ वैशाख ०६३ मा राजतन्त्रले घुँडा टेकेसँगै प्रतिनिधिसभा पुनर्स्थापना भएको थियो । आन्दोलनका वेला राजालाई साथ दिएका तत्कालीन सभामुख तारानाथ रानाभाटले १३ वैशाखमा राजीनामा दिए, त्यही दिन सुरु भएको संसद्को अध्यक्षता उपसभामुख यादवले गरेको थिइन् ।

निरंकुश राजतन्त्रविरुद्धको आन्दोलनमा सडकमा पनि संसद् बैठक बसेको थियो । पहिलो सडक संसद् पाटनको मंगलबजारमा भएको थियो ।

जहाँ विघटित प्रतिनिधिसभाका सदस्यहरूसहित सात दलका शीर्ष नेताको उपस्थिति थियो । दोस्रो सडक संसद् बैठकका क्रममा प्रज्ञा भवन छिर्न नपाएपछि गेटमै बसेर आफूले मात्र बोल्न पाएको उनको अनुभव छ ।

==

प्रतिक्रिया दिनुहोस