Latest News

उपसभामुखको निर्वाचनको मिति तोकियो, को बन्लान् नयाँ उपसभामुख ?

Nepalese Times July 13, 2022 (1 Year ago)    234 Views

काठमाडौं ।

उपसभामुख चयनका लागि पर्सि ३१ गते निर्वाचन हुने भएको छ ।

प्रतिनिधिसभाको आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तय भएको छ । स्रोतका अनुसार पर्सि शुक्रबार निर्वाचन तोकिने छ ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त छ ।

दैनिक कार्यसूचीको दोस्रो नम्बरमा भनिएको छ, ‘सम्माननीय सभामुखले उपसभामुखको निर्वाचनका लागि प्रतिनिधि सभा नियमावली २०७५ को नियम ८ बमोजिम दिन र समय तोक्नुहुनेछ।’

यस्तै बुधबारको प्रतिनिधि सभा बैठकमा नागरिकता सम्बन्धी नयाँ विधेयक पेस हुने भएको छ।

बुधबार बिहान ११ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बताएका छन्।

चार वर्षदेखि संसद्‌मा विचाराधीन नागरिकता विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक संसद्‌ सचिवालयमा दर्ता गराइसकेको छ।

यो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधका सूचनाहरूलाई पनि बुधबार नै निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

बुधबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्व विद्यालय विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९’ संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने संसद्को कार्यसूची छ।

‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने समेत कार्यसूची छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री भवानी प्रसाद खापुङले ‘औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस