Latest News

गभर्नर अधिकारीलाई एमालेले दियो महत्वपूर्ण जिम्मेवारी, यस्तो प्रमाण बाहिरिएपछि खैलाबैला

Nepalese Times July 12, 2022 (1 Year ago)    448 Views

काठमाडौं ।

काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारीले आफू कुनै पार्टी राजनीतिमा नरहेको बताएपनि उनी नेकपा एमालेको एक विभागको सदस्य रहेको खुलेको छ ।

एमालेको अर्थ तथा योजना विभागको सदस्यमा अधिकारीलाई पनि राखिएको देखिएको छ । उनलाई एमालले गठन गरेको अर्थ तथा योजना विभागको सदस्यको दोश्रो नम्बरमा राखिएको छ ।

महाप्रसाद अधिकारी भनी नाम राख्दा विवाद आउने ठानेर एमालेले उनको नाम एम। अधिकारी भनी राखेको छ । उनको जिल्ला भने खोटाङ नै राखिएको छ । सो विभागका एक सदस्यका अनुसार एम. अधिकारी भन्ने व्यक्ति महाप्रसाद अधिकारी नै हुन् ।

यसअघि एमाले सरकारको पालामा उनी लगानी बोर्डको अध्यक्ष समेत भएका थिए । लगानी बोर्डमा भएकै अवस्थामा एमालेले अर्थमन्त्री बनाएका डा. युवराज खतिवडाको जोडबलमा उनलाई गभर्नर बनाइएको थियो ।

अहिले पनि गभर्नर अधिकारीले लिने कतिपय महत्वपूर्ण निर्णयहरुमा डा. खतिवडाको अप्रत्यक्ष सहभागिता हुन्छ भन्ने चर्चा एमाले वृत्तमै समेत चल्ने गर्छ ।

एम अधिकारीको विषयमा चर्चा सुरु भएपछि सो नाम भएका व्यक्ति एमालेका कुनै तहमा छन् या छैनन् भन्ने विषयको पनि खोजबिन सुरु भएको थियो । त्यसैक्रममा एम. अधिकारी भन्ने व्यक्ति न खोटाङमा छन् न त काठमाण्डौ वा अन्यत्र नै । खोटाङ घर भई अन्यत्र बस्नेहरुमा पनि एमालेको केन्द्रीय विभागको सदस्यको हैसियतमा बस्नसक्ने कुनै पनि व्यक्ति फेला परेनन् ।

खोटाङ एमालेका अनुसार जिल्लामा एम. अधिकारी नामको कुनै पनि व्यक्ति छैन । सो जिल्लाबाट बसाईसराई गरेर एम. अधिकारी नामको कुनै पनि व्यक्ति विभागको सदस्यको हैसियतमा पुगेको कुनै रेकर्ड छैन ।

एमाले निकट स्रोतका अनुसार खोटाङबाट प्रतिनिधित्व गर्ने एमाले नेता विशाल भट्टराईको जोडबलमा महाप्रसाद अधिकारीलाई विभाग सदस्य बनाइएको हो ।

राष्ट्रबैंकको गभर्नरजस्तो पदमा रहेको व्यक्तिलाई पार्टीको विभाग सदस्यमा राखिएकोमा एमालेभित्र पनि असन्तुष्टि देखिएको छ । एमालेका एक स्थायी कमिटी सदस्यले भने–‘यो गलत भयो । महाप्रसाद अधिकारी हाम्रै पार्टीको मान्छे हो भन्ने जगजाहेर नै थियो ।’

उनले भने, ‘तर, विभागमा राखेर उहाँलाई अप्ठ्यारोमा पारिदिने काम पार्टीका नेताहरुले गर्नुहुँदैन थियो । अब पार्टीका जिम्मेवारी नेताहरुले कि त एम। अधिकारी भन्ने व्यक्ति देखाउनसक्नुपर्छ, होइन भने अधिकारीको नाम भूलवश विभागको सदस्यमा पर्न गएकोमा सूची सच्याउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस