Latest News

कुखुराको मासुको भाउ ह्वात्तै घट्यो, किलोको कति रुपैयाँमा झर्यो ?

Nepalese Times July 12, 2022 (1 Year ago)    372 Views

काठमाडौं ।

कुखुराको मासु एक महिनाको बीचमा प्रतिकिलो एक सय रूपैयाँभन्दा बढीले घटेको छ।

एक महिना अघि प्रतिकिलो चार सय ५० रूपैयाँमा बिक्री भएको मासु हाल तीन सय ४५ रूपैयाँमा बिक्री भइरहेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताएका छन् ।

पछिल्लो समय मागभन्दा बढी कुखुरा उत्पादन भएकाले मूल्य घटेको उनले बताए। ‘अहिले उत्पादन धेरै छ। उत्पादन बढेपछि मूल्य घट्नु स्वभाविक हो,’ उनले भने।

यो समयमा विगतमा पनि कुखराको मासुको मूल्य घट्ने गरेको उनको भनाई छ। हालको मूल्यभन्दा अझै मूल्य घट्ने संभावना भने नरहेको उनले बताए। ‘एक महिनाको बीचमा एक सय भन्दा बढी घट्नु धेरै हो,’ उनले भने, ‘अब घट्दैन होला।’

पछिल्लो समय उत्पादन लागतमा भएको वृद्धिका कारण केही समयअघि कुखुराको मासुको भाउ बढेको तर अहिले फेर घटेकाले आफूहरु घाटामा रहेको उत्पादकहरुले बताएका छन् ।

एउटा कुखुरा डेढ किलो दानामा तयार हुनुपर्नेमा परम्परागत पालनका कारण दुई किलोभन्दा बढी खर्च हुने गरेको किसानहरु बताउँछन् । चल्लाको र दानाको दाम जोड्दा किसानलाई अहिले पनि प्रतिकिलो २५० रुपैयाँ जति लागत पर्न आउने उनीहरुको भनाई छ ।

कुखुराका दाना उत्पादकहरू सरकारले कच्चा पदार्थको रूपमा चाहिने मकै तथा भटमासको आयातमा शुल्क बढाएको कारण पनि दानाको भाउ बढ्दै गएको बताउँछन्।

नेपाल दाना उद्योगी सङ्घका अध्यक्ष रबिन पुरीका अनुसार तात्कालिक अर्थमन्त्री युवराज खतिवडाको पालामा कृषि सुधार शुल्क बढेपछि मकै, भटमास र पिना आयातमा लाग्ने खर्च बढ्दै गएको हो।

नेपालमा माग र आपूर्तिबीच सन्तुलन बिग्रिँदा पनि बेलाबखत कुखुराको मासुको भाउ निकै बढ्ने गरेको विक्रेताहरू बताउँछन्। “कहिलेकाहीँ मागभन्दा पनि बढी उत्पादन भइदिएर भाउ घट्छ भने कहिलेकाहीँ कम उत्पादन भएर भाउ बढ्न जान्छ,” काठमाण्डू उपत्यकामा कुखुराको मासुको थोक तथा खुद्रा दुवै व्यापार गर्ने भ्याली ग्रूपका हरिकृष्ण रावलले भने।

प्रतिक्रिया दिनुहोस