Latest News

नयाँ राष्ट्रपती चयन गर्ने मिति तोकियो

Nepalese Times July 11, 2022 (1 Year ago)    415 Views

काठमाडौं ।

श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने भएको छ । सहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने जानकारी गराएका हुन् ।

जुलाई १३ मा वर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका नेताहरूले जुलाई २० मा नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरेको आवासमन्त्री रानातुङ्गाले बताएका छन् ।

पार्टीले निर्णय गरेअनुसार जुलाई १३ मा राष्ट्रपतिले राजीनामा दिएमा प्रक्रिया त्यसैअनुसार अगाडि बढ्ने उनले बताएका छन् ।

गएको शनिवार फोर्टमा रहेको राष्ट्रपति भवनमा हजारौँ प्रदर्शनकारी प्रवेश गरेपछि त्यहाँको राजनीतिक घटनाक्रम नयाँ ढङ्गले विकास भएको हो ।

तीव्र विरोध र प्रदर्शनका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका प्रदर्शनकारीहरूले भने देशको बिग्रँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको र राजनीतिक नेतृत्व त्यसका निम्ति जिम्मेवार रहेको बताएका छन् ।

पछिल्ला केही हप्ता इन्धन पसलहरूमा सर्वसाधारण र प्रहरीबीच थुप्रै झडप भएको समाचारहरू आएका छन् । श्रीलङ्का सन् १९४८ स्वतन्त्रता प्राप्त गरेपछिको यस पटक सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले औपचारिक रूपमा प्रधानमन्त्री विक्रमासिङ्घेलाई आफ्नो पदबाट राजीनामा दिन लागेको बताएका छन् ।

तेल आपूर्ति अभावले विद्यालय र सरकारी कार्यालयहरू अर्को सूचना नभएसम्म बन्द गरिएका छन् । श्रीलङ्कामा इन्धन अभावका बीच थुप्रै क्षेत्रमा आपत्कालीन एम्बुलेन्स सेवासमेत निलम्बित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस