Latest News

सपथ ग्रहण गरेको केही दिनमै जाने भयो मृगेन्द्रकुमारको मन्त्री पद, सर्वोच्चमा पुग्यो यस्तो रिट

Nepalese Times July 8, 2022 (1 Year ago)    348 Views

काठमाडौं ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवको नियुक्ति खारेजी माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। प्रतिनिधि सभा निर्वाचन ०७४ मा हारेका व्यक्तिलाई मन्त्री नियुक्त गरिएको भन्दै सपथ बदर गराउन माग गर्दै रिट पिरेको हो ।

गत मंगलबार रेजिना पौडेलले रिट दिएकी थिइन्। मन्त्रीको नियुक्ति खारेज र सपथ बदर गराउन अन्तरिम आदेश माग गर्दै रिट परेको थियो।

यादव राष्ट्रिय जनता पार्टी (राजपा) बाट सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ मा पराजित भएका थिए। यहाँ नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका थिए।

प्रतिनिधि सभा चुनावको दुई वर्षपछि राष्ट्रिय सभा चुनाव भयो। दुई वर्षे कार्यकाल सकेर १९ सांसद बिदा भएपछि ती ठाउँमा चुनाव गरिएको थियो।

२०७६ माघ ९ गते भएको चुनावमा मधेश प्रदेशबाट मृगेन्द्रकुमार सिंहले जितेका थिए। त्यसबेला नेकपा र राजपाबीच चुनावी तालमेल भएको थियो। त्यो बेला नेकपाका १७ र राजपाका दुई सांसद निर्वाचित भएका थिए।

०७४ मा गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा चुनाव हारेका नारायणकाजी श्रेष्ठ पनि त्यही बेला गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए।

राजपा र समाजवादी पार्टीबीच एकतापछि जसपा बनेको थियो। राजपाबाट राष्ट्रिय सभा सांसद गरेका यादव जसपा सांसद भए। अहिले पनि उनी जसपाका सांसद छन्।

जसपाले सरकारमा रहेका आफ्ना तीन मन्त्री परिवर्तन गरेर नयाँ तीन मन्त्री पठाएपछि गत असार २० मा मन्त्रिपरिषद पुनर्गठन भई सपथ गरिएको थियो। गत सोमबार यादव मन्त्री भएपछि मंगलबार सर्वोच्चमा उनको नियुक्ति बदर गर्न माग गर्दै रिट परेको थियो।

संविधानको धारा ७४ को ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैनु भन्ने उल्लेख छ।

मृगेन्द्र ०७४ मा सप्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका थिए। संविधानअनुसार प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ। सरकारले मंसिरमा निर्वाचन गर्ने तयारी गरेकोले त्यो बेला चुनाव भए प्रतिनिधि सभाको कार्यकाल मंसिरसम्म बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस