Latest News

बाजुराको बुढीगंगामा फेरि तनाव, प्रहरीमाथि ढुंगामुढा

Nepalese Times July 7, 2022 (1 Year ago)    378 Views

धनगढी ।

बाजुराको बुढीगंगा नगरपालिकामा फेरि तनाव उत्पन्न भएको छ। यसअघि मतदानको क्रममा बुढीगंगा नगरपालिका–९ मा झडप भएको थियो। त्यहाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर नै गर्नुपरेको थियो।

साँझ पनि बुढीगंगाको वडा नम्बर ४ स्थित थुमा मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेपछि मतपेटिका उठाउने क्रममा ढुंगामुढा भएको छ। नेपाली कांग्रेस कार्यकर्ताले निर्वाचनमा खटिएका प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका हुन्। ढुगांमुढा प्रहारबाट केही प्रहरी घाइते भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार स्थिति सामान्य बनाउन प्रहरीले हवाई फायर गरेको छ। प्रहरीले हवाई फायर गरेपछि स्थिति नियन्त्रणमा आएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए। उनका अनुसार अहिले मतपेटिका नगरपालिकामा पुगिसकेका छन्।

वैशाख ३० मा भएको मतदानमा धाँधली भएको भन्दै बुढीगंगामा आज पुनः मतदान गरिएको छ। निर्वाचनमा नौ हजार ११७ अर्थात ६६.७५ प्रतिशत मत खसेको छ । बूढीगंगामा १३ हजार ६५९ जना मतदाता रहेका थिए ।

वैशाख ३० गते भएको मतदान बदर भएपछि सो नगरपालिकाका १० वटै वडामा आज फेरि मतदान भएको थियो । मतदानमा ३६.०२ प्रतिशत महिला र ३०.७३ प्रतिशत पुरुष सहभागी भएका छन् । साँझसम्म मतपेटिका संकलन गरेर निर्वाचन अधिकृतको कार्यालय कुल्देमाडौ ल्याउने काम भइरहेको निर्वाचन अधिकृत हस्तबहादुर कडायतले बताए ।

सर्वदलिय बैठकको निर्णय पछि मात्रै आजै गणना गर्ने कि भोली विहान गर्ने भन्ने निश्चित हुने बताइएको छ । विहान ७ बजे शुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो ।

चुनावमा काँग्रेसका रंगबहादुर खाती र नेकपा (एमाले) का रामबहादुर बाँनियाबीच नगर प्रमुख पदमा मुख्य प्रतिस्पर्धा रहेको छ । यस्तै उपप्रमुखमा काँग्रेसका रिता शाही र एमालेका माया कुँवर उम्मेदवार छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टका अनुसार जसअनुसार वडा नम्बर १ मा ८३१, वडानम्बर २ मा एक हजार ११९, वडानम्बर ३ मा ७६७ , वडानम्बर ४ मा एक हजार २१०, वडानम्बर ५ मा ८१८ मत खसेको छ ।

यस्तैगरेर वडा नम्बर ६ मा ७९०, वडानम्बर ७ मा ८८१ , वडानम्बर ८ मा ७००, वडानम्बर ९ मा ९०३ र वडानम्बर १० मा एक हजार १०९ मत खसेको छ ।

१० वडामा १० मतदानस्थल र १९ वटा मतदान केन्द्र रहेका थिए । निर्वाचन धाँदलीरहित बनाउनका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान गरेर एक मतदान स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

वैशाख ३० गतेको चुनावमा सुरक्षा व्यवस्था कमजोर हुँदा २,३,५ र ९ एमाले, ४ र ७ मा कांग्रेसले वुथ कव्जा गरेको कारण यसपटक सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस