Latest News

प्रचण्डका छोरी र बुहारीले पाए महत्वपूर्ण जिम्मेवारी

Nepalese Times July 7, 2022 (1 Year ago)    424 Views

नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्यमा भरतपुर महानगरकी प्रमुख रेनु दाहाल अटाएकी छन्। उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री पनि हुन्।

अध्यक्ष प्रचण्डले प्रज्ञा भवनमा विहीबार प्रस्तुत गरेको १ सय २५ जनाको पोलिटब्युरोमा दाहाल पनि परेकी हुन्।यस्तै प्रचण्डकी बुहारी बीना मगर पनि पोलिटब्युरो सदस्य भएकी छन्।

उता योङ कम्युनिष्ट लिग (वाईसीएल) इन्चार्ज रहेका रामप्रसाद सापकोटा ‘दीपशिखा’ पनि पोलिटब्युरोमा अटाएका छन्।यस्तै युवा नेता तथा संघीय सांसद सुरेश राई पोलिटब्युरो सदस्य बनेका छन्।

पोलिटव्युरो सदस्यमा प्रस्तावित नामहरुमा केन्द्रीय सदस्यले आपत्ति जनाएका छन् । अध्यक्ष प्रचण्डले पेश गरेको नाम मापदण्डविना आएको भन्दै हलबाट विरोध भएको हो ।

विरोधका कारण केहीबेर बैठक अवरुद्ध भयो । प्रस्तावित नामप्रति नेतृत्व नै अलमलमा परेका बेला हलबाट मापदण्डमाथि प्रश्न उठाइएपछि पारित हुन सकेको छैन । प्रस्तावित नाम र विनामापदण्ड बनेको कमिटीबाट निराशा फैलिएको बैठकका सहभागीले गुनासो गरेका छन् ।

मधेस प्रदेशबाट सबैभन्दा बढी विरोध भएको छ । शिवकुमार यादवलगायतले एमालेबाट २०५८ मै विद्रोह गरेकालाई अहिलेसम्म विभेद गरिएकै कारण आज एमाले बलियो बनेको र माओवादी कमजोर बनेको बताए । सदस्यहरुले मापदण्ड के हो भनेर प्रश्न गरेका छन् । यसैबीच पोलिटव्युरोमा अध्यक्ष प्रचण्डको परिवारबाट चार सदस्य परेका छन् ।

प्रचण्डसहित छोरी रेनु दाहाल, बुहारी वीना मगर र भाइ नारायण दाहाल पोलिटव्युरो सदस्य बनेका छन् । अर्की छोरी गंगा दाहाल र ज्वाइँ जीवन भने केन्द्रीय सदस्य पहिलोपटक बनेका छन् ।

प्रतिक्रिया दिनुहोस