Latest News

फेरी मन्त्री थप्दै मुख्यमन्त्री राजेन्द्र पाण्डे, को-को बन्दैछन् नयाँ मन्त्री ?

Nepalese Times July 7, 2022 (1 Year ago)    443 Views

काठमाडौं ।

बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने रस्साकस्सी विस्तारै सेलाउँदै आएपछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो नेतृत्वको सरकारमा फेरी मन्त्री मण्डल विस्तार गर्ने भएका हुन् । भागबण्डाकै लागि मन्त्रालय फुटाएको व्यापक आरोप खेप्दै आएका मुख्यमन्त्री पाण्डेले फेरी २ मन्त्री थप्ने तयारी गरेको बुझिएको छ ।

आगामी साता मन्त्रिमण्डलमा २ जना राज्यमन्त्री थप गर्ने तयारीमा पाण्डे रहेको स्रोतले बताएको छ । मकवानपुर र सिन्धुलीबाट दुई जनालाई राज्यमन्त्री नियुक्त गर्ने आन्तरिक तयारी भएको हो । स्रोतका अनुसार दुबै जना राज्यमन्त्रीहरु नेकपा एकीकृत समाजवादीबाट नै हुने छन् ।

सत्ता गठबन्धनको भागबण्डामा ६/६ महिना मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गर्ने सहमति तत्काललाई टरेको एक विश्वस्त स्रोतले जनाएको छ । प्रदेशमा सरकारको नेतृत्व छोड्नु पर्ने भएमा गठबन्धनको केन्द्रीय दलहरुको निर्णय र आफ्नो पार्टीको केन्द्रीय नेतृत्वबाटै निर्देशन आउनु पर्ने अडान लिँदै आएका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नै अबको बाँकी समय मुख्यमन्त्री रहने स्रोतको दाबी छ ।

स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे आगामी चुनावसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहिरहने छन् । गत ११ कात्तिकमा मुख्यमन्त्री हुँदा बागमतीमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पाण्डे र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ आलोपालो मुख्यमन्त्री बन्रुने लिखित सहमति भएको थियो । “त्यो सहमतिले नै अहिले तनाव सिर्जना गरेको हो” माओवादी केन्द्र प्रदेश स्तरका अर्का एक नेताले भने ।

उनका अनुसार ६ महिना बित्दा साथ सरकार फेर्ने कुरा गर्दा नीति तथा कार्यक्रम र बजेट ल्याउन समय माग भएको थियो, सोही अनुसार नेपाली काँग्रेसले समय दियो । अन्ततः नेकपा एकीकृत समाजवादीलाई प्राप्त साथ र समर्थनको कारण नेता बानियाँ पछि परे । बागमतीमा मुख्यमन्त्रीमा बानियाँ भन्दा पाण्डे रहनुमा नेपाली कांग्रेसकै नेताहरूले आन्तरिक रूपमा साथ दिएको उनले बताए । यसमा नेकपा एमालेको पनि साथ रहेको बुझिएको छ ।

बजेट पास भएपछि मुख्यमन्त्री पाण्डेलाई दबाब दिन कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलनको तयारी गरेका थिए । यता बानियाँले नै पाण्डे सहमतिमै सरकार छोड्ने तयाररहेको बताउँदै आएका थिए । तर पाण्डेले केन्द्रको निर्देशन चाहिने अडान लिएपछि माहोल फेरिएको हो ।

बागमतीको सरकारमा हेरफेर गर्दा अन्यत्र पनि हेरफेर गर्नु पर्ने नत्र गठबन्धनमा धक्क पुग्ने निष्कर्षसहित अहिले पाण्डे नेतृत्वको सरकारलाई नै यथावत राखिने तयारी भएको माओवादी केन्द्रका ती नेताले भने ।

माओवादी शीर्ष नेतृत्वले त सरकार परिर्वतनको खेलमा नलाग्न प्रदेशका नेताहरुलाई निर्देशन नै दिएको उनले बताए । माओवादी सांसद पूर्व तथा समाजिक विकास युवराज दुलालका अनुसार सात प्रदेशका सरकार सकेसम्म नचलाउने कुरा केन्द्रीय गठबन्धनको छ । प्रदेश सरकार संचालन संयन्त्रका संयोजक समेत रहेका दुलाल प्रधानमन्त्रीले चाहँदा मात्र मुख्यमन्त्री हेरफेर हुनसक्ने बताउँछन् ।

अन्य प्रदेशको कुरा जोडेर सहमति तोडेको प्रति कांग्रेस बागमती प्रदेश सभापति एवं संसदीय दलका नेता बानियाँले दुख व्यक्त गरे । ‘सरकार हेरफेर गर्ने नगर्ने सहमति शीर्ष तहमा के भयो मलाई थाहा छैन’ बानियाँले भने, ‘विगतमा सहमति लिखित नै भएकोले कार्यान्वयन गर्न माग गरेका हौं ।’ सहमति मान्रुने वा तोड्ने सवाललाई लिएर गठबन्धनलाई कमजोर बनाउने काममा भने कांग्रेस नरहेको उनले बताए ।

संघीय सरकारमा आगामी चुनावी नेतृत्व गर्न नेकपा एकीकृत समाजवादीलाई दिने हो भने बागमतीमा बानियाँको चान्स भएको नेकपा एकीकृत समाजवादीका एक नेताले बताए । ‘काँग्रेसले संघीय सरकारको नेतृत्व छोड्न नचाहँदा बागमतीमा बानियाँले चान्स गुमाएँ,’ उनले भने । राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस