Latest News

डलरको भाउ घट्यो, कतिमा झर्यो ?

Nepalese Times July 7, 2022 (1 Year ago)    453 Views

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ ५९ पैसा र बिक्री दर १२७ रुपैयाँ १९ पैसा रहेको छ। हिजोको तुलनामा यो कम हो । हिजो खरिद दर १२६ रुपैयाँ ७० पैसा र बिक्रि दर १२७ रुपैयाँ ३० पैसा कायम भएर कारोबार भएको थियो

युरो एकको खरिद दर १२९ रुपैयाँ २७ पैसा र बिक्री दर १२९ रुपैयाँ ९९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ १९ पैसा र बिक्री दर १५१ रुपैयाँ ९० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६४ पैसा र बिक्री दर ३४ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्ता छन् डलरको भाउ बढ्नुको फाइदा
१) निकासी: नेपाली रुपैयाँको भाउ सस्तो हुँदा नेपाली निकासी वा सामानको भाउ अन्तर्राष्ट्रिय आयातकर्ताहरूको निम्ति आकर्षक हुन पुग्छ र निकासीलाई यसले टेवा पुग्न सक्छ। तर नेपालको निर्यात वा निकासी सीमित छ।

२) पर्यटन आय: विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानी बढाइदिन्छ। नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई यहाँ आउन खर्चको हिसाबले थप प्रोत्साहन मिल्छ। पर्यटनको योगदान नेपाली अर्थतन्त्रमा बहुआयामिक हुने गर्छ।

देशको विदेशी मुद्रा आर्जनको एक प्रमुख स्रोतमात्र नभई यसले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीमा ठूलो योगदान पुर्‍याउँछ। लगानी गर्न खोज्नेहरूलाई पनि कमजोर नेपाली मुद्राले केही प्रोत्साहन मिल्न सक्छ।

३) विप्रेषण आय: लाखौँ नेपालीहरू विदेशमा काम गर्छन्। कैयौँले त्यहाँ कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन्। उनीहरूको हकमा डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ।

विप्रेषण आयमा हुने वृद्धिले समग्र अर्थतन्त्रमा राम्रो प्रभाव पर्छ। पछिल्लो दश महिनाको आँकडामा विप्रेषण आय छ खर्ब रुपैयाँ नाघेको देखिन्छ। जबकि रोजगारका लागि जाने कामदारको सङ्ख्या केही घटेको छ।

यस्ता छन् डलरको भाउ बढ्नुको बेफाइदा
१) आयात: नेपालले गत १० दश महिनामा ६६ अर्ब रुपैयाँ बराबरको निर्यात र १० खर्ब रुपैयाँको आयात गरेको छ। डलरको भाउ बढ्ने बित्तिकै विदेशी मुद्रा खर्च गरेर गरिनुपर्ने आयातको मूल्य स्वत: बढ्छ। उसै त कहालीलाग्दो स्थितिमा रहेको व्यापार घाटा त्यसो हुँदा झन् बढ्छ।

यो घाटाको अर्को नराम्रो असर चालु खाता तथा शोधनान्तरमा पर्छ। विदेशी मुद्राको सञ्चितिपनि घट्छ। अहिले नै यो सञ्चितिमा चाप पर्न थालेको देखिन्छ। पछिल्लो विवरणमा शोधनान्तर घाटा करिब १९ अर्ब पुगिसकेको छ।

२) महँगी: डलरको भाउ बढ्ने बित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महँगो हुन पुग्छन्। सियोदेखि गाडीसम्म आयातमा निर्भर नेपालको निम्ति यो ठूलै बेफाइदा हुन्छ। नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुने गर्छ। तर भारतमै पनि भारु सस्तो हुँदा हुने महँगी यता सर्न सक्छ। इन्धनको मूल्य चर्को हुन सक्छ।

३) विद्यार्थी शुल्क: दशौँ हजार नेपाली विद्यार्थी विदेशमा पढ्न गएका छन्। उनीहरूले त्यहाँ विदेशी मुद्रामा पैसा तिर्नुपर्छ। डलरको भाउ बढ्नेबित्तिकै त्यसले ती विद्यार्थीको परिवारमाथि एक्कासि आर्थिक बोझ थपिन्छ।

राष्ट्र ब्याङ्कका अनुसार यसै आर्थिक वर्षमात्रै विद्यार्थीका कारण ४० अर्ब रुपैयाँ बराबरको रकम बाहिरिन सक्छ। डलरको भाउ बढ्दै गए यसमा चाप पर्छ। नेपालको अर्थतन्त्रको प्रकृति जस्तो छ त्यो हेर्दा डलरको भाउ बढ्दा फाइदा भन्दा बेफाइदा नै बढी हुने विज्ञहरूले बताएका छन्।

अर्को प्रमुख बेफाइदा चाहिँ नेपालले विदेशी मुद्रामा लिएको ऋणको परिमाण डलरको भाउ बढेसँगै बढ्छ। विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्ट्याएको रकम अपुग हुनसक्छ।

प्रतिक्रिया दिनुहोस