Latest News

प्रचण्डपुत्री गंगालाई अर्थमन्त्री बनाउन प्रस्ताव !

Nepalese Times July 7, 2022 (1 Year ago)    866 Views

काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएलगत्तै उनको ठाउमा प्रचण्डपुत्री गंगा दाहाललार्इ अर्थमन्त्री बनाउन प्रस्ताव आएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक रुपमै छोरी गंगालाई न्याय दिन अर्थमन्त्री बनाउन प्रस्ताव गरिएको हो । मधेश बिश्लेषक तथा मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजले आज यस्तो प्रस्ताव गर्नुभएको छ ।

अहिराजले प्रचण्डलाइृ ब्यंग्य गर्दै लेखेका छन्, ‘ गंगा दाहाललाई तत्काल अर्थमन्त्री बनाउन हार्दिक आग्रह। पार्टी सचिवालय सम्हाल्दै केन्द्रीय सदस्य बनेकी तर मन्त्री बन्न नपाएर महिला हिंसा र विभेदको अनुभुति गर्दै बसेकी।। छोरीलाई अर्थमन्त्री बनाऊ । मौका यही हो। छोरीहरुबीच विभेद नगरुम कमरेड पाप लाग्छ। प्लिज कमरेड ।’

तर कांग्रेसका केही नेताले अर्थ मन्त्रालय अब माओवादीलाई दिन नहुने भन्दै त्यसै अनुसारको सक्रियता बढाएका छन् ।

बिचौलिया राखेर बजेटमा करका दर हेरफेर गरेको तथा सिसिटिभी फुटेज समेत डिलिट गरेको आरोपसहित अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएसँगै कांग्रेसका नेताहरुले सक्रियता बढाएका हुन् ।

केन्द्रीय केन्द्रीय कार्य समिति सदस्य समेत रहेका नेताहरूले संकट उन्मुख अर्थतन्त्र जोगाउन स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउनुपर्ने बताएका छन् ।

वाग्ले हाल विश्व बैङ्कको परामर्शदाताका रूपमा कार्यरत छन् । योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका वाग्लेलाई अर्थमन्त्री बनाउन आयोगकै अर्का पूर्व उपाध्यक्ष समेत रहेका कांग्रेस केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले पनि आग्रह गरेका छन् । शर्माको राजीनामा लगत्तै सामाजिक सञ्जालबाट पोखरेलले अर्थतन्त्रलाई संकटबाट बचाउन वाग्लेको माग गरेका हुन् ।

देशको अर्थतन्त्रलाई संकट उन्मुख हुनबाट बचाउन र दरिलो आर्थिक सुधार गरी समुन्नत देश बनाई राजनीतिक स्थिरता कायम गर्दै युवाहरूलाई उज्यालो भविष्यको भरोसा दिलाउनका लागि स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउनुपर्ने पोखरेलले माग गरेका छन् ।

यस्तै केन्द्रीय सदस्य अजय बाबु सिवाकोटीले पनि कांग्रेस सांसदमध्येबाट अहिलेको संकट टार्न सक्ने आँट र क्षमता भएकालाई खोज्न सुझाव दिएका छन् । उनले सांसदबाहिर ल्याउने हो भने वाग्ले नै उपयुक्त पात्र भएको बताएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएसँगै अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने भएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले राजीनामा दिएको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस