Latest News

स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन कांग्रेसका नेताहरुको माग, को हुन् वाग्ले ?

Nepalese Times July 6, 2022 (1 Year ago)    1383 Views

काठमाडौं ।

कांग्रेसका केही नेताले अर्थ मन्त्रालय अब माओवादीलाई दिन नहुने भन्दै त्यसै अनुसारको सक्रियता बढाएका छन् ।

बिचौलिया राखेर बजेटमा करका दर हेरफेर गरेको तथा सिसिटिभी फुटेज समेत डिलिट गरेको आरोपसहित अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएसँगै कांग्रेसका नेताहरुले सक्रियता बढाएका हुन् ।

केन्द्रीय केन्द्रीय कार्य समिति सदस्य समेत रहेका नेताहरूले संकट उन्मुख अर्थतन्त्र जोगाउन स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउनुपर्ने बताएका छन् ।

वाग्ले हाल विश्व बैङ्कको परामर्शदाताका रूपमा कार्यरत छन् । योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका वाग्लेलाई अर्थमन्त्री बनाउन आयोगकै अर्का पूर्व उपाध्यक्ष समेत रहेका कांग्रेस केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले पनि आग्रह गरेका छन् ।

शर्माको राजीनामा लगत्तै सामाजिक सञ्जालबाट पोखरेलले अर्थतन्त्रलाई संकटबाट बचाउन वाग्लेको माग गरेका हुन् ।

देशको अर्थतन्त्रलाई संकट उन्मुख हुनबाट बचाउन र दरिलो आर्थिक सुधार गरी समुन्नत देश बनाई राजनीतिक स्थिरता कायम गर्दै युवाहरूलाई उज्यालो भविष्यको भरोसा दिलाउनका लागि स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउनुपर्ने पोखरेलले माग गरेका छन् ।

यस्तै केन्द्रीय सदस्य अजय बाबु सिवाकोटीले पनि कांग्रेस सांसदमध्येबाट अहिलेको संकट टार्न सक्ने आँट र क्षमता भएकालाई खोज्न सुझाव दिएका छन् । उनले सांसदबाहिर ल्याउने हो भने वाग्ले नै उपयुक्त पात्र भएको बताएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएसँगै अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने भएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले राजीनामा दिएको घोषणा गरेका थिए।

‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यवाद दिन्छु,’ संसदको रोष्टमबाट शर्माले भनेका थिए, ‘यो छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु।’

राजीनामासँगै साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गर्दै अर्थ मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने जानकारी दिएका हुन्।

बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेको छ। त्यसपछि सिसिटिभी फुटेज समेत डिलिट भएको कुरा बाहिर आएपछि शर्मालाई राजीनामा दिन दबाब सिर्जना भएको थियो।

शर्मामाथि छानबिन गर्न आज प्रतिनिधि सभामा सभामुख अग्नि सापकोटाले ११ सदस्यीय विशेष छानबिन समिति समेत गठन गरेको बताएका थिए। बैठकमा शर्माले बजेट बनाउँदा आफूले कुनै गल्ती नगरेको पनि बताएका थिए।

प्रतिक्रिया दिनुहोस