Latest News

अन्ततः कांग्रेसका ईन्द्र बानियाँ बन्ने भए वागमतीका मुख्यमन्त्री, राजेन्द्र पाण्डेको राजीनामा

Nepalese Times July 2, 2022 (1 Year ago)    920 Views

काठमाडौं ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँ वागमती प्रदेशका मुख्यमन्त्री बन्ने पक्का भएका छन् ।

प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एकाएक सकारात्मक भएपछि बानियाँ मुख्यमन्त्री बन्ने पक्कापक्की भएको हो ।
यसअघि प्रदेश सरकारको बजेट भाषणपछि मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति भएकोले वागमतीमा मुख्यमन्त्री परिवर्तन हुन लागेको हो ।

बागमती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको कारण सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलनको तयारी गर्नु पनि हो ।

माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छोड्न सकारात्मक देखिएका हुन् । उनले आज संसदीय दलको बैठक बोलाएर राजीनामा दिने तयारी गरेका छन् ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा शनिबार सो पार्टीको बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौंमा बस्ने भएको हो । संसदीय दलको बैठकमा सहभागी हुनका लागि पार्टीका सबै सांसदलाई काठमाडौं बोलाइएको कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाईको भनाइ छ ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे यसअघि नै काठमाडौं पुगिसकेका छन् । शुक्रबार मुख्यमन्त्री पाण्डेले पार्टी नेतृत्वसँग छलफल गरेको बताइएको छ । उनले विगतमा आफूसहितले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको भन्दै सत्ता हस्तान्तरणका लागि आफू तयार रहेको नेतृत्व तहलाई बताएको स्रोतको भनाइ छ ।

मुख्यमन्त्री पाण्डेकै पहलमा संसदीय दलको बैठकमार्फत सत्ता हस्तान्तरणका लागि मार्ग प्रशस्त गर्न लागिएको स्रोतले जानकारी दिएको छ । यस्तै निर्वाचनको मिति घोषणापूर्व नै वागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गठबन्धनको छ । वागमतीमा अहिले एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे र सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।

वागमती प्रदेशको मुख्यमन्त्री कांग्रेसले र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले दाबी गरेका छन् । पाण्डेविरुद्ध कांग्रेस र माओवादी सांसदले हस्ताक्षर अभियानसमेत थालेका थिए ।

प्रतिक्रिया दिनुहोस