Latest News

सफल उद्यमी विष्णु पुरुषले छाडे एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीमा पाए महत्वपूर्ण जिम्मेवारी

Nepalese Times July 1, 2022 (1 Year ago)    582 Views

काठमाडौं । सफल युवा उद्यमी विष्णु कुमार श्रेष्ठ ‘विष्णु पुरुष’ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य बनेका छन् ।

उनी नेकपा एमाले पार्टी परित्याग गरेर रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका हुन् ।

एक विज्ञप्ति सार्वजनिक गर्दै उनले नेकपा एमालेको साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट अलग रहेको घोषणा गर्दै अबको यात्रा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरु हुने बताए ।

सामान्य परिवारमा जन्मिएर पनि धेरै युवाहरुलाई रोजगारी दिन सफल भएको र अब देश निर्माणमा पनि योगदान पुर्याउन राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको उनले बताएका छन् ।

आफूलाई सफल उद्यमी भनेर चिन्ने मौका मिलेकोले अब आफ्नो लागि नभई देशको लागि समय दिनुपर्ने अवस्था आएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको महत्वपूर्ण जिम्मेवारी केन्द्रीय सदस्य भएर काम गर्ने उनले भनेका छन् ।

यस्तै रवि लामिछानेले नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो ।

प्रस्तावित चुनाव चिन्ह घण्टीलाई पनि आयोगले आधिकारिकता दिएको पार्टीका प्रवक्ता मुकुल ढकालले बताए ।

यो चुनाव चिन्ह अरु पार्टीले नपाएकाले आयोगले स्वीकार गरेको छ । केही स्वतन्त्र उम्मेदवारहरुले रविको पार्टीको नामले आफूहरुलाई अप्ठेरो पर्ने भन्दै आयोगमा उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस