Latest News

फेरि बढ्ने भयो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल र डिजेलमा कति–कति लाग्ने भयो कर ?

Nepalese Times July 1, 2022 (1 Year ago)    465 Views

काठमाडौं । भारतले पेट्रोलियम पदार्थ निर्यातमा कर लगाउने भएको छ । योसँगै यसको असर नेपालमा पनि पर्ने भएको छ । इकोनोमिक टाइम्सका अनुसार भारतले पेट्रोलमा प्रतिलिटर भारु ६ र डिजेलमा प्रतिलिटर भारु १३ निर्यात कर लगाउने उल्लेख गरेको छ ।

नेपालले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । जसले गर्दा भारतले निर्यात कर लगाउँदा नेपाललाई असर पर्ने देखिन्छ ।भारतले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै आन्तरिक मूल्यलाई मिलाउन कर लगाउने निर्णय गरेको हो ।

तर यसबारे नेपाल आयल निगमलाई भने अहिलेसम्म कुनै जानकारी आएको छैन । नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतले पेट्रोलियम पदार्थ निर्यातमा कर लगाएको विषयमा कुनै जानकारी नभएको बताए ।

नेपालमा केही दिनअघि सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ । शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने घोषणा गरेका हुन् ।

सरकारको निर्णयसँगै पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम भएको छ । यस्तै डिजेलको मूल्य १९२ रुपैयाँ रहेकामा अब २८ रुपैयाँ घटेर १६३ रुपैयाँ कायम गरिएको छ ।

अत्यावश्यक वस्तुहरुको मूल्यको वृद्धिका कारण सर्वसाधारण जनता मारमा गरेको भन्दै मन्त्री बडुले यस संवेदनशील अवस्थाप्रति सरकार गम्भीर र संवेदनशील हुँदै मूल्य घटाइएको बताए ।

नेपाल सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको केही करलाई कटौती गरेर मूल्य घटाउने सहमति भएको उनको भनाइ छ । शनिबार बिहान बसेको शीर्षस्थ नेताहरुको बैठकले मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो ।

बडुका अनुसार सो बैठकमा प्रधानमन्त्रीले शेरबहादुर देउवाले सरकारले लगाउँदै आएको टयाक्सलाई घटाएर भएपनि मूल्य घटाउनु पर्छ भनेर भनेको र सोही अनुसार निर्णय भएर कार्यान्वयन गर्न लागिएको बताए । उनले समग्र मूल्यवृद्धिलाई नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाइने पनि बताए ।

नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो । एक्कासि इन्धनको भाउ बढेपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो ।

प्रतिक्रिया दिनुहोस